२२ माघ २०७६, बुधबार
  • भगतराम थारु,

नेपालगञ्ज, २२ माघ । लागू्औषध प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्र बुधवारदेखि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उप-महानगरपालिकाको सहकार्यमा बुधबार नेपालगन्जमा लागूऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र सञ्चालनमा आएको हो ।

नेपालगञ्जको गणेशमान चोक नजिकै रहेको पूरानो एसएसपी कार्यालय परिसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे संगै केन्द्रको विधिवत सचालनमा आएको छ ।

परामर्श केन्द्रबाट लागू औषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतिको प्रयोग गरी मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको समेत निशुल्क परामर्श दिने प्रहरी महानिरीक्षक खनालको भनाई थियो ।

लागू औषध सेवानकर्ता लगायतका लागि परामर्श केन्द्र सञ्चालन कार्यविधि २०७६ कार्यान्वयन गर्न सो केन्द्र सञ्चलनको लागि ४ कोठाको भवन मर्मत तथा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले बताउनुभयो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवलशम्सेर राणाले नेपाल प्रहरीको आन्तिरिक स्रोत साधन र नेपालगञ्ज उपमहानगरबाट करिव १० लाखको लागतमा सो केन्द्र सञ्चालनमा आएको जानकारी गराउनुभयो ।

यसैगरी सोही परिसरमा प्रहरी अनुसंन्धानमा सहयोग पु-याउने उद्देश्यले निर्माण गरिएको बिधि विज्ञान प्रयोगशाला (फोरन्सिक ल्याव) को समेत उदघाटन गरिएको छ ।

बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको आफ्नै स्रोत र साधनका साथै नियमित बजेटबाट निर्माण गरिएको हो । सो केन्द्र सञ्चालनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक अध्यक्ष रहने गरी ७ सदस्यीय सञ्चालक समिति निर्माण गरिएको छ ।

सञ्चालक समितिमा नेपालगञ्ज उपमहानगरका अधिकृत, वडासचिव अधिकृत स्तरको, सामुदायिक सेवा केन्द्र नेपालगञ्ज, जयसपुर, कोहलपुर सदस्य रहनुको साथै प्रहरी निरीक्षक सुरज खत्रीलाई सदस्य सचिव तोकिएको एसपी ओलीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बाँकेका विभिन्न पालिकाका जनप्रतिनिधि, धर्म गुरु, सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

LIVE TV