मिस नेपाल भएपछि पहिला भन्दा बढी राष्ट्रवादी भए : अनुष्का श्रेष्ठ,



प्रकाशित मिति : Feb 05, 2020

बेल्जियम, २२ माघ । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ अहिले युरोप भ्रमणमा छिन् । युरोपमा पहिलो पटक आयोजित मिस नेपाल युरोप २०२० मा सहभागी हुन युरोप पुगेकी अनुष्काले युरोपको बिभिन्न मुलुकका छरिएर रहेका नेपालीहरुलाई भेटने र गफिने अवसर पनि पाइन् ।

युरोपको चिसोको मज्जा लिदै युरोपमा व्यस्त अनुष्का लामो समय अष्ट्रेलिया बसेको हुनाले पनि उनीमा विदेशको रहर त्यति देखिदैन ।

तर युरोपको ऐतिहासिक स्थानहरुले उनलाई तानेको छ । मिस नेपाल भएपछि र मिस वल्र्डमा पनि बिभिन्न उपाधि जितेपछि उनी आफुमा राष्ट्रवादी भावना बढेको खुलस्त भन्छिन ।

सिन्धुपाल्चोकको सोलसिंग गाउँमा बिभिन्न सामाजिक कार्यहरु गरिरहेकी अनुष्काले भविष्यमा यही गर्छु भन्ने सोंच त बनाएकी छैनन् । तर उनी विदेशमा बसेर ‘आइ मिस नेपाल’ भन्नु भन्दा नेपालमा नै बसेर केही गर्ने योजना भने बुनिरहेको उनीसंको कुराकानीबाट छर्लङ्ग हुन्छ ।

बेल्जियम भ्रमणमा रहदा न्यूज २४ नेपाल डट टिभीकी युरोप प्रतिनिधि इन्दिरा चाम्लिङले अनुष्कासंग गरेको कुराकानी :

आराम हुनुहुन्छ ?

हजुर सन्चै छु ।

यूरोपमा हुनुहुन्छ, केको सिलसिलामा आउनुभयो ?

ड्रिम्स नेपालद्वारा आयोजित मिस नेपाल यूरोप २०२० को लागि हामी नेपालबाट आएका थियौ । पहिलो मिस नेपाल यूरोप छानिनु भएको छ । निकै सफलतापूर्वक सो इभेन्ट सम्पन्न भइसकेको छ ।

पहिलो पटक हो तपाईको यूरोप यात्रा ?

मेरो यूरोप यात्रा दोस्रो पटक हो । पहिलो पटक आएको बेला मैले इटाली र फ्रान्स घुमेकी थिएँ । इटलीमा तीन महिना बिताएकी थिएँ । बेल्जियम पहिलो पटक हो मेरो ।

कस्तो भइरहेको छ त यूरोप यात्रा ?

मलाई घुम्न निकै मन पर्छ । मलाई ऐतिहासिक स्थानमा घुम्न त झन असाध्यै मनपर्छ । यूरोपमा धेरै हिस्टोरिक सिटीहरू छन् ।

मलाई यस्तै हिस्टोरिकल प्लेसहरू भिजिट गर्न मनपर्छ । एकदमै रमाइलो भइरहेको छ । मेरो दोस्रो पटकको यूरोप यात्रा निकै रमाइलो हुनाका साथै अविस्मरणीय पनि भएको छ ।

यूरोपमा चिसो कतिको लागिरहेको छ ?

नेपालमा पनि चिसो नै छ । लन्डनको चिसो पनि खाएकी छु । यहाँको चिसो मलाई ठीकै लाग्यो । न हावा, न हुरी, न धेरै चिसो नै छ । घाम पनि लागेको हुँदा यहाँको चिसो त मलाई रमाइलो लाग्यो ।

बेल्जियम बसाईमा कस्तो अनुभूति गर्नुभयो ?

बेल्जियमबासी नेपालीहरूले यति धेरै माया , सम्मान र स्वागत गर्नु भएको छ कि म शब्दमा वर्णन गर्न सक्दिनँ ।

दिनदनै टाढाटाढाबाट भेट्न आउँनुहुन्छ । नयाँनयाँ ठाउँहरूमा घुमाउन लानुहुन्छ । यति धेरै आत्मीयता छ, माया, साथ सहयोग छ । आफ्नै घर र आफ्नै परिवार जस्तो अनुभूति भएको छ ।

नेपाल फर्किएर के गर्नुहुन्छ ?

चार महिना बाँकी छ नयाँ मिस नेपाल २०२० क्राउन हुन, क्राउन होल्ड गर्दाखेरि जति पनि माया र अटेन्सन पाउँछौं, बिउटी विद द पर्पस प्रोजेक्टका कामहरूलाई निरन्तरता दिने उद्देश्य छँदैछ र मिस वल्र्डमा जितेर ल्याएको टाइटलहरू छन् । जुन होल्ड गरेपछि जति पनि कमिटमेन्टहरू हुन्छन् प्रस्तुतिहरू दिनुपर्ने हुन्छ त्यो पनि छँदैछ ।

बिउटी प्याजन्ट र समाजसेवा फरक कुरा हो, प्रेरणा कहाँबाट मिल्यो समाजसेवा गर्न ?

मलाई समाजसेवा गरें जस्तो लाग्दैन किनभने समाजमा बसेपछि हामी सबैजना मिलेर काम गर्छौं ।

समाजसेवालाई म भिन्न विधा र भिन्न पेसाको रूपमा म लिदिंनँ। सबैले समाजको लागि आफूले गर्न सक्ने काम गरिनैरहेका हुन्छन् ।

यहाँको पनि पत्रकारिता गरिरहनुभएको छ आफ्नो स्तरबाट । मैलेपनि आफूले पाएको मन्च जुन छ, त्यसलाई सदुपयोग गरेर समाजको लागि केही प्रभावशाली काम गर्ने जमर्को गरेकी छु । मैले केही त्यस्तो खास समाजसेवा गरेको जस्तो चाही लाग्दैन ।

‘सोलसिंग भन्नासाथ अनुष्का र अनुष्का भन्नासाथ सोलसिंग’ यो अन्योन्याश्रित सम्बन्ध बारे प्रष्ट पारिदिनुस् न ?

म काठमाडौंमै जन्मिएँ र हुर्किएँ । काठमाडौं भन्दा बाहिरको गाउँ देख्ने मौका पाएको थिइनँ । अष्ट्रेलियामा म पढ्ने क्रममा पाँच वर्ष बसें ।

नेपाल फर्केर गएर केही काम गरौं भन्ने सोच थियो र चिनेको साथीको माध्यमबाट मिस नेपालमा प्रतिष्पर्धा गर्नु अगाडि म सोलसिंग पुगें । मलाई त्यहाँ पुगेपछि उहाँहरूको जाँगर र स्वाभिमान देखें। गरिखान देऊ भन्ने भावना देखें ।

मलाई केही न केही पक्कै गर्छु भन्ने लाग्यो । मलाई यस्तै आफैलाई सहयोग गर्ने व्यक्तिगहरूलाई सहयोग गर्न मन पर्छ । भनिन्छ नि “Help those who help themselves” म जुन कामको लागि गएँ, उहाँहरूले मलाई आत्मीयता देखाएर मनबाटै स्वागत गर्नुभयो। यसरी हाम्रो सम्बन्ध शुरू भएको हो ।

सोलसिंग बारे अझै कतिपय मानिसहरू अनभिज्ञ हुनुहुन्छ । कुन कुन समुदायको बसोबास छ? कुन जिल्लामा अवस्थित छ ? कस्तो छ त सोलसिंग ?

हाम्रो सोलसिंग गाउँ सिन्धुपाल्चोकमा हेलम्बू गाउँपालिका अन्तर्गत वडा नम्बर सातमा पर्छ । मेलम्ची मुहानबाट कÞरीब ३ घन्टा ड्राइभ गरेपछि पुगिन्छ । काठमाडौंबाट ७० किलोमीटर टाढा छ । तर बाटो र मौसमको कारण कहिलेकाँही अलि बढी समय लाग्न सक्छ ।
१४० घरधुरीको छ हाम्रो गाउँ, त्यहाँ १००५ तामाङ बस्ती छन् ।

हाम्रो गाउँले नुवाकोट छुन्छ । लाङ्गटाङ्ग नेशनल पार्कको बफर जोनमा पनि पर्छ । सोलसिंगको प्राकृतिक सौन्दर्य आफ्नैमा अनुपम पनि छ ।

कस्तो काम गरिरहनुभएको छ सोलसिंगमा ?

भूकम्प पछि स्कूलका ठूला भवनहरू बनेपनि त्यहाँ पढ्ने १२० बालबालिकाको लागि २ जना मात्र शिक्षक हुनुहुन्थ्यो ।

यसकारण सिकाईमा निकै जटिलता देखियो । शैक्षिक गुणस्तर निकै नाजुक पाएपछि
हामीले बलबालिकाको क्षमता बिकासको लागि केन्द्रित हुनुपर्छ भनेर प्रोजेक्ट शुरू गर्यौं। टिचर थप्ने काम गर्यौं ।

प्राइभेट स्कूलहरूसँग सहकार्य गरेर काठमाडौंमा शिक्षकहरूलाई तालिम पनि दियौँ । शैक्षिक सामग्रीहरू यथेष्ट मात्रामा उपलब्ध गराएका छौं । डोनेसनबाट मात्र सधैंभरी टिक्दैन भनेर बालबालिकाको आमाबुवाको आर्थिक आय आर्जनको बाटो खोलिदियौं । हामीले गलैंचा बुनाई, ढुंगा कटाई, इन्टरलकिंग ब्रिक मेकिंग, मैन बत्ती बनाउने, धूप बत्ती बनाउने जस्ता कामको तालिम मात्रा नभएर हामीले बजार व्यवास्थापनमा समेत सहयोग गरिरहेका छौं ।

हाम्रो उद्देश्य भनेको उहाँहरूले आय आर्यन गरेको रकम उहाँहरूको बच्चाहरूको शिक्षामा इन्भेस्ट हुन सकोस् र उहाँहरूको जीवनस्तर पनि माथि उक्सिन सकोस् भन्ने हो ।

तपाईले युवाहरूको सपनाको देश अस्ट्रेलियामा ५ बर्षे अध्ययन पूरा गरेर नेपाल फर्किनु भयो । किन उतै सेटल हुनुभएन ?

अहिलेको जमानामा सपनाको देश, यो देश त्यो देश भन्ने छैन। हामी बढी सिक्नको लागि नै जान्छौं । त्यहाँ बसेपनि फर्किन मन पनि लागिरहेकै हुन्छ जस्तो लाग्छ ।

सधैंभरी बाहिर बसेर I miss Nepal लाई नेपालको याद आउँछ भनेर जीवन बिताउनु भन्दा त नेपालमा केही न केही गर्छु भन्ने आँट र हिम्मत गरेर नेपाल आएँ ।

मिस नेपाल बन्ने प्रेरणा कसबाट मिल्यो ?

मिस नेपाल बन्ने अथवा प्रयास गर्ने प्रेरणा साँच्चै मन्च र ताजको माया र सम्मान जुन छ त्यसबाट नै मिल्यो । समाजमा केही राम्रो प्रभावकारी काम गर्नलाई राम्रो मन्च हो यो, त्यसकारण पनि प्रेरित भएकी हुँ ।

मिस नेपाल र मिस वल्र्डमा पार्टिसिपेशन गरिरहदा भिन्नता के पाउनुभयो ?

मिस नेपालमा व्यक्तिगत प्रस्तुति बढी दिनुपर्नेहुन्छ । हामी केमा विश्वास गर्छौं भनेर एडभोकेसी गर्नुपर्नेहुन्छ भने मिसवल्र्डमा चाही मैले दिने प्रस्तुति भन्दा पनि ममा सिंगो नेपाल र नेपालीको तस्वीर झल्किरहेको हुन्छ ।

मिस वल्र्डको मन्चबाट देशको प्रतिनिधित्व गरिरहँदा, देश र देशबासीलाई चिनाइरहँदा संसारले हेरिरहेको हुन्छ । अवश्य पनि फरक त हुन्छ नै ।

मिस वल्र्डमा गएर विभिन्न विधामा टाइटल जितिरहँदा कस्तो अनुभूति भयो ?

म निकै खुसी थिएँ । मेहेनत र टिमवर्क राम्रो थियो । मैले हिंडिरहेको बाटो सही रहेछ भन्ने लाग्यो ।

मलाई गौरवान्वित महसूस भयो। अझ जिम्मेवारी थपिए झै लाग्यो । अझ काम गर्ने जाँगर र सप्पोर्ट मिल्दोरहेछ यस्तो टाइटलहरूले ।

मिस वल्र्डमा भाग लिन जानुहुने भावी मिस नेपालहरूलाई के भन्न चाहनुहुन्छ ?

बढी भन्दा बढी मेहेनत गर्नुपर्छ । इनर्जेटिक, ऊर्जावान हुनु पर्ने समय हुन्छ त्यो। सिकाईको लागि सधैं तयार रहनुपर्छ । मिलनसार हुनुपर्छ, सबै काम एक्लैले गर्न सक्दैन, टिम वर्क गर्नुपर्छ र नेपाललाई चिनाउन सधै इमानदारितापूर्वक काम गर्नुपर्छ ।

मिस नेपाल हुनुपूर्व र मिस नेपाल भएपछिको अनुष्का श्रेष्ठमा के छ फरक ?

अवश्य पनि स्केडुयल फरक छ । पहिला बोलेको भन्दा अहिले बोलेको कुरा प्रभावकारी हुन्छ । पहिला भन्दा धेरै काम गर्ने ऊर्जा मिलेको छ । पहिला भन्दा राष्ट्रवादी भएकी छु ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com