२२ माघ २०७६, बुधबार

भक्तपुर , १३ माघ । नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल भक्तपुरका खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् । बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा पदक जित्न सफल खेलाडीको सम्मान गरिएको हो ।

कार्यक्रममा १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जित्न सफल मन्देकाजी श्रेष्ठलाई नगद ३० हजार रुपैयाँ , स्वर्ण पदक बिजेता उसु खेलाडी सुस्मिता तामाङ्गलाई २५ हजार रुपैयाँ, तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडी काजल श्रेष्ठलाई २५ हजार रुपैयाँ, टेबल टेनिस रजत पदक जित्न सफल शिव शुन्दर गोथे २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै कबड्डीमा रजत पदक जित्न सफल यसोधा गिरीलाई २० हजार रुपैयाँ, ह्यान्ड्बलमा रजत पदक बिजेता देबकुमारी बाँस्कोटालाई २० हजार रुपैयाँ, भारोत्तोलनमा काँस्य पदक जित्न सफल लक्ष्मी बनलाई १५ हजार रुपैयाँ, जुडोमा कास्य पदक जित्ने शिव राम मकाजुलाई १५ हजार रुपैयाँ, बास्केटबलमा कास्य पदक बिजेता खेलाडी बिक्रम जोशीलाई १५ हजार रुपैयाँ तथा ओलम्पियन धाविका कान्छीमाया कोजुलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल तथा भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भक्त काशिछेवाले विशेष बधाई ज्ञापन गर्नु भएको थियो ।

LIVE TV