२२ माघ २०७६, बुधबार

काठमाडौं, २२ माघ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित हुनका साथै कसैमा पनि संक्रमण नभएको बताउनु भएको छ ।

उहाँले चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथामका लागि चीनको प्रयासप्रति धेरै नेपाली जनता र सञ्चार माध्यमले निष्पक्ष, औचित्यपूर्ण र शान्त व्यबहार प्रस्तुत गरेको बताउनु भएको छ ।

सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रुपमा दूताबासबाट उपलब्ध सामग्रीमा राजदूत होउले यसबाट सो प्रकोपसँगको लडाइँमा चीनप्रति नेपालको विश्वास र समर्थन स्पष्ट भएको भन्दै त्यसबाट आफूहरू उत्साहित हुनुका साथै आभारी भएको बताउनु भएको छ ।

साथै चीन रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयको केही सूचनाहरू आफूले पाएको उल्लेख गर्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधहरूलाई प्राथमिकता दिइरहेको र कुनतीतिक माध्यमबाट नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV