२१ माघ २०७६, मंगलवार

काभ्रे, १६ माघ । काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका जोड्ने पुल ८ वर्षदेखि अलपत्र परेको छ ।

ठेकेदार कम्पनीहरुले ठेक्का लिदै छोड्दै गर्दा २०६८ सालमा निर्माण सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न हुन नसकेको हो ।

जापान सरकारको सहयोगमा बन्न लागेको उक्त पुल ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले साढे ७ करोडमा सम्झौता गरेको थियो । तर, कान्छाराम कन्स्ट्रक्सनले तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न नसकेपछि जापान सरकारले उक्त कम्पनीलाई ३० लाख रुपैयाँ हर्जना तिरायो ।

त्यसपछि उक्त पुल निर्माणको जिम्मा नेपाल सरकारललाई सुम्पिदियो । यसैबीच झण्डै चार वर्षसम्म उक्त पुलले कुनै ठेकेदार पाएन ।

स्थानीयको दबाबपछि २०७५ सालमा बल्ल सरकारी अधिकारीहरुको आँखा उक्त पुलमा प-यो । र जाल्पा कन्स्ट्रक्सनलाई पुल निर्माणको जिम्मा दिइयो । २०७५ मंसिरमा भएको सम्झौता अनुसार १ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

तर, अहिले जाल्पा कन्स्ट्रक्सनलाई सरकारले दिएको समयावधि पनि सकिएको छ, भने हालसम्म पुलको अवस्था जस्ताको त्यस्तै छ । स्थानीयले पुलको लागि ताकेता गरेपनि सम्बन्धित निकायले भने खासै चासो नदिएको स्थानीयको आरोप छ ।

रोशी र नमोबुद्धको बीचमा बन्ने उक्त पुलले काठमाडौंलाई पनौती, चौकीडाँडा, दक्षिण महाभारत हुँदै मकवानपुरसँग जोड्छ । यो सडक वीपी राजमार्गको शाखा मार्ग पनि भएकाले अझ बढी महत्वपूर्ण छ ।

तर, ठेकेदार कम्पनीहरुले जिम्मा लिने तर, काम नगर्ने प्रबृत्तिका कारण २०७१ सालमा निर्माण सम्पन्न हुनुपर्ने सो पुल हालसम्म बनेको छैन ।

LIVE TV