
मकवानपुर, २१ माघ । हेटौंडामा करिब २ साताअघि मृत भेटिएकी तेस्रोलिंगी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
यही माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो । त्यस अघिल्लो राति उनको हत्या भएको आशंका गरिउको थियो । घटनापछि अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले हत्यामा संलग्न ५ जनालाई पक्राउपछि मंगलबार (आज) सार्वजनिक गरेको हो ।

अजिताको हत्या अभियोगमा पक्राउ परेका युवाहरु हेटौँडाकै रहेका छन् । मकवानपुर प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–४ का २४ वर्षीय आशिष बल, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेर सार्वजनिक गरेकाे हो ।
अजिताको हत्या भने यौन सम्पर्कपछि लेनदेनमा विवाद भएका कारणले भएको खुलेको छ । मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले यौनसम्पर्कपछि अजिताले रकममा बार्गेनिङ गर्दा विवाद भएको र सो कार्यमा संलग्न युवाहरुको समूहले हत्या गरेको अनुसन्धानबाट देखिएको बताए ।
उनका अनुसार ना ६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरेका थिए । तर सम्पर्कपछि रकममा विवाद भएपछि उनीहरूसहित ४ जना मिलेर हत्या गरेको र सोही ट्रकमा शव लगेर क्याम्पाडाँडामा फालेकाे प्रहरीकाे भनाइ छ ।

प्रहरीले हेटौंडा–११ बस्ने एलिसाको साथबाट अजिताको हराएकाे मोबाइल समेत बरामद गरेको छ । सोही मोबाइलका आधारमा हत्यारालाई पक्रन प्रहरी सफल भएको हो ।
अजिता हत्यामा संलग्न युवकले नै सो मोबाइल साथीलाई दिएको र साथीले आफ्नी पत्नी एलिसालाई दिएको खुलेको छ । हत्यापछि लामो समय मोबाइल अफ रहेको थियो । जब मोबाइल खुला भएको देखियो, अनुसन्धानमा संलग्न प्रहरीलाई हत्यारासम्म पुग्न सजिलो भयो ।
हत्या हुँदाका बखत अजिताकाे उमेर २९ वर्ष थियाे भने ७ वर्षअघि मात्रै उनले आफूलाई पुरुषबाट महिलाका रुपमा स्वीकारेकी थिइन् । उनी नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङकाे अत्यन्त निकट थिइन् । सानैमा मातापिता गुमाएकी अजिता पछिल्लाे समय हजुरबुबा-हजुरआमाको साथ बस्दै आएकी थिइन् ।