२१ माघ २०७६, मंगलवार

पोखरा, २१ माघ । छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेको छ। अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन्। अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन्। चिनियाँ व्यवसायीद्वारा लेकसाइडमा सञ्चालिन हेल्लो वल्र्ड जर्नीले सोमबार चीन पठाउने मास्क धमाधम ट्रकमा लोड गरिरहेके। हेल्लो वल्र्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिए। सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उनले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिए।

पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको उनले बताए। ‘पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ।’ अधिकारीका अनुसार ५० वटा दरले प्याकेट बनाएर चीनका विभिन्न ठाउँमा पठाइएको छ। ५० पिसको प्याकेटलाई पोखरामा ३ सय रुपैयाँमा खरिद गरेको उनले बताए। चीनमा कति मूल्यमा निर्यात भइरहेको भन्नेबारे भने चिनियाँले बताउन चाहेनन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV