२० माघ २०७६, सोमबार

काठमाडौं, २० माघ । ऐतिहासिक र धार्मिक महत्वका सम्पदाले सम्पन्न सहर । तर, कतिपय सम्पदा संरक्षण नहुँदा नासिदै छन् । महत्वहीन बनेका छन् । सरकारी निकायले ध्यान नदिएका सम्पदा संरक्षणमा स्थानीयले पनि खासै चासो राख्दैनन् । तर, चावहिलस्थित चारुमती स्तुपाको संरक्षणमा स्थानीयले गरेको प्रयास भने प्रशंसायोग्य छ ।

यो, काठमाडौंको चावहिलस्थित चारुमती स्तुपा हो । भारतका सम्राट अशोककी छोरी चारुमतीको नाममा यो स्तुपा स्थापना गरिएको हो । भूकम्पले क्षति पु¥याएको यो स्तुपाको संरक्षण स्थानीयकै पहलमा भयो । यसको अगुवाई चारुमती चैत्य भिक्षु तपस्वी धम्मले जिर्णोद्वार गर्नुभयो । स्तुपा आसपास रहेको मूर्ति, माने, अग्नि कुण्ड तथा पर्खाललगायत भौतिक संरचनाको अवस्था कमजोर भएपछि काठमाडौं महानगरपालिका र स्थानीयको सहयोगले नै चैत्यको पुर्ननिर्माण गरिएको थियो ।

अशोककालीन दुई हजार ३०० वर्ष पूरानो इतिहास बोकेको यो स्तुपालाई धन्दो चैत्यसमेत भनिन्छ । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपले काठमाडौँ उपत्यकाको महत्वपूर्ण मानिने सो स्तुप बौद्ध धर्मावलम्बीका लागि तीर्थस्थल तथा पर्यटकका लागि आकर्षक सम्पदास्थलका रुपमा छ । लामो समयदेखि चारुमती बुद्धिष्ट मिसन नेपालले यस क्षेत्रको संरक्षण तथा संवर्धनमा सहयोग गर्दै आएको छ ।

स्तुप परिसरभित्र रहेका कलात्मक प्रस्तरकलालाई सफा राख्नुका साथै चैत्य परिसरको फोहोर व्यवस्थापन समेत गर्दै आएको छ । थाइलाण्ड, म्यानमार, श्रीलंका लगायतका देशबाट नेपाल घुम्न आउने पर्यटकहरु चारुमति स्तुपा घुम्न आउने गरेता पनि उचित पार्किङको सुविधा नहुँदा समस्या हुने गरेको छ ।

LIVE TV