२० माघ २०७६, सोमबार
  • तारा आचार्य

विराटनगर, २० माघ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित दोश्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।


नेपाल हक्की संघले विराटनगरस्थित शहीद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा नेपाली सेना र गण्डकी प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो ।

आर्मीका दीपेन्द्र ऐरले ३ र ४२ औं मिनेटमा गोल गरेभने २० औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे । २७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरे । ३६ र ३७ औं मिनेटमा रोमन राणाले गोल गरे भने ५७ र ५९ औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका प्रदीप राजवंशी घोषित भए ।

त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित गरेको छ । खेलको ३९ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गण्डकीका किशनबहादुर मगर घोषित भए । त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन् । ४९ औं मिनेटमा बागमतिका विनजन घिमिरे र ५९ औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।

हक्की प्रतियोगितामा प्रदेश नं. ६ बाहेक ६ वटा प्रदेश र नेपाली सेना गरी ७ वटा टिमले भाग लिएका छन् । नेपाल हक्की संघले आयोजना गरेको सो खेलमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । सो हक्की प्रतियोगिताको विजेताले ट्रफी सहित ५० हजार नगद पाउनेछन् भने उपविजेताले २५ हजार र तेश्रो हुने टिमले १५ हजार नगद पाउने बताइएको छ ।

गत बर्ष झापामा आयोजित पहिलो संस्करणमा गण्डकी प्रदेशले नेपाली सेनालाई पराजित गर्दै उपाधि जितेको थियो ।

LIVE TV