२० माघ २०७६, सोमबार

काठमाडाैँ, २० माघ । मुलुकको सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समृद्धिलाई मूल नारा बनाउँदै आएको । भलै त्यो समृद्धि जनताका लागि होस्/नहोस्, पार्टी तथा नेताहरु भने समृद्ध हुँदै गएको छनक देखिन्छ ।

लामो समयपछि बसेको नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा पार्टीभित्र मौलाउँदै गएको विकृति, विसंगति र सरकारका क्रियाकलापको निर्मम समीक्षा एवं आलोचना भएको छ । यो राम्रो पक्ष हो । तर आगामी दिनमा गल्ती सुधारेर देश र जनताको मागबमोजिम अघि बढ्ने तत्परता तथा यस बैठकले तय गरेका एजेन्डा कार्यान्वनको अवस्था कत्तिको देखिन्छ, नेकपाले भन्ने गरेको समृद्धि त्यस आधारमा आँकलन गर्न सकिएला ।

बुधबारदेखि भव्य रुपले सुरु भएको सो बैठक आइतबार सकिएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमाथि घनिभूत छलफल भयो ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित भएको छ ।

छलफलपछि समसामयिक विषयका ११ प्रस्ताव पारित गर्दै बैठक समापन भएको हो । पारित ११ प्रस्ताव महासचिव विष्णु पौडेलले पढेर बैठकमा सुनाएका थिए ।

सो बैठकले देशभित्रका समसामयिक विषय, सीमा विवाद, छिमेकी देश चीनमा फैलिरहेको कोरोना भाइरस तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न तनावप्रति चिन्तालगायतका विषयबारे प्रस्ताव पारित गरेको हो ।

पछिल्लो समय तीव्र विवाद र बहसको विषय बनिरहेको अमेरिकी सहयोग ‘एमसीसी’का बारेमा भने समग्र पक्षहरूको वस्तुसम्मत् अध्ययन गरेर निर्णय लिनका लागि ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । जसमा झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।
कार्यदललाई १० दिनको समयसीमा दिइएको छ ।

हेर्नुहाेस् तस्वीरमा

LIVE TV