१९ माघ २०७६, आईतवार
  • इरफान अली

वीरगन्ज, १९ माघ । प्रदेश २ स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगीतामा आइतबार महोत्तरी विजयी भएको छ । वीरगन्जमा शनिबारबाट सुरु भएको प्रदेश स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबलमा रौतहटलाई ट्राइबेकरमा २–१ गोलले हराएर महोत्तरी विजयी भएको हो ।

आदर्शनगर रंगशालामा भएको दोस्रो दिनको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोली गोलरहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा महोत्तरीका लागि रवी कुमार र कृष्ण बहादुर राणाले गोल गरे, भने रौतहटका लागि किशन लामाले मात्र गोल गरेका थिए ।

खेलमा म्यान अफ दी म्याच महोत्तरीका गोल किपर अलिन थापा मगर भएका छन् । प्रतियोगितामा सोमबारको खेलमा सप्तरी र सर्लाही भिड्ने आयोजकले जानकारी गराए । माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् । आठ वटा टिमलाइ दुइ समूहमा विभाजन गरिएको छ ।

समूह ‘क’मा पर्सा, बारा, धनुषा र सिराहा छन् । समूह ‘ख’मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् । प्रतियोगिताको उपाधी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैया नगदसहित कप र मेडल दिनेछ ।

LIVE TV