१९ माघ २०७६, आईतवार

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्य समितिको विस्तार गरिएको छ ।

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले आइतबार रिक्त नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्य समितिमा दुई उपसभापति र पाँच महामन्त्री थप गर्दै यस्को विस्तार गर्नु भएको हो ।

विस्तारित केन्द्रीय तदर्थ समितिको उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल मनोनित भएका छन् ।

त्यस्तै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवनपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बाल्देव तिम्सीना र स्याङ्जाका युवराज पाण्डे मनोनित भएका छन् ।

पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गर्नु भएको हो ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद सिटौलाले प्रेस विज्ञप्ती जारी गर्दै ‘नेपालविद्यार्थी संघ तदर्थ समिति’का बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने जानकारी दिनुभएको छ ।

यस अघि, नेविसङ्घको केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनित भइसकेका छन् । त्यस्तै महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर पनि मनोनित भइसकेका छन् ।

LIVE TV