१९ माघ २०७६, आईतवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १९ माघ । सिमसार क्षेत्रमा सूचिकृत जगदीशपुर तालमा भव्यरुपमा विश्व सिमसार दिवस मनाइएको छ ।

२४ औं विश्व सिमसार दिवसको अवसर पारेर स्थानीय तह र वन डिभिजन कार्यालय कपिलवस्तुको सहकार्यमा जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा चरा महोत्सवका साथै विभिन्न रचनात्मक कार्यहरु पनि गरिएका छन् ।

तालमा सांसद अतहर कमालसहितले तालमा माछाको भुरा हालेर कार्यक्रमको आरम्भ गरिएको थियो । सो अवसरमा सांसद कमालले जगदीशपुर ताल प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय स्थल रहेको बताउनुभयो । उहाँले लुम्बिनीसंग जोडर जगदीशपुर तालको विकास गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री दीपकुमार उपाध्यायले प्राकृतिक बिविधताले भरिएको जगदीशपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो ।

स्थानीयको सहभागितामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउुनु पर्ने उहाँको भनाइ थियो ।

बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लगायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गर्नुपर्ने उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा तालको प्रचारप्रसार र प्रबद्र्धनमा विकासमा योगदान दिएको भन्दै सञ्चारकर्मी किरणमान बज्राचार्यलाई दोसल्ला ओढाएर कदर पत्र र नगदले सम्मानित गरिएको थियो । दिवसका अवसरमा थारु समुदायहरुले लाठी नाँच लगायतका कला प्रस्तुत गरेका थिए ।

ताल वरिपरि गरिएको महिला र पुरुषको दौड प्रतियोगिताले आकर्षण थपेको थियो । म्याराथुन, निबन्ध तियोगीताका बिजयी खेलाडीलाई पुरस्कृत गरिएको थियो । यस्तै दिवसकै अवसरमा चरा महोत्सव समेत गरिएको थियो ।

तालमा चरा हेर्न आउनेहरुका लागि भ्युटावर निर्माणसंगै चरा अवलोकनका लागि बाइनाकुलरको पनि व्यवस्था गरिएको छ ।

एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय १८ बढी प्रजातिका चराचुरुङ्गी, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने नेपाल पंक्षी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ ।

विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चराचुरुङ्गीहरु जगदीशपुर तालमा देख्न पाइन्छ । त्यस्तै तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाइने बरिष्ठ चराबिद् डा.हेमसागर बरालले जानकारी दिनुभयो ।

LIVE TV