१९ माघ २०७६, आईतवार

ललितपुर, १९ माघ । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी उपलव्ध गराएको छ ।

शनिबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका भवन परिसर, गोटीखेलमा महाँकाल गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स गाडी र त्यसको साँचो हस्तान्तरण गर्नुभएको हो ।

बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुसी व्यक्त गर्दै भने, ‘दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ । चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको छ । अब छिटै यो सेवा सुचारु हुनेछ ।’

नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आउने अपेक्षाका साथ गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडी उपलव्ध गराइएको जानकारी दिए ।

नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग

महाँकाल गाविसको वडा नम्बर ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

नेरेसो अध्यक्ष संजीव थापाले गत वर्ष पौषमा शिलन्यास गर्नुभएको कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका सांसद नवराज सिलबालले समुद्घाटन गरेका थिए ।

यसका साथै रेडक्रसले थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलव्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले भने, ‘वर्थिङ सेन्टर फोहर र साँघुरो थियो । फोहर डिस्पोज गर्ने व्यवस्था थिएन । रेडक्रसले ती समस्या पनि समाधान गरिदिएको छ ।’

गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले विकट वडाहरुमा सञ्चालित रेडक्रसको सामुदायिक विकास सबलिकरण कार्यक्रमले पनि जनताहरु प्रभावित भएका बताइन् ।

LIVE TV