१९ माघ २०७६, आईतवार
  • राजन परियार,

सिन्धुली, १९ माघ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । गाउँपालिकाले उक्त शिविर यही माघ ११ गते सुरु गरी १८ गते (शनिबार) सम्पन्न गरेको हो ।

यस शिविरमा दुई हजार १५० जनाको आँखा परीक्षण गरिएको थियो । जहाँ १ सय ८५ जना मोतिया विन्दुका विरामी फेला परेका थिए । जसमध्ये पनि १ सय ६२ जनाको निःशुल्क अप्रेशन गरिएको छ ।

केहीलाई भने उपचारका लागि काठमाडौं पठाइएको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार करीब ७ सय ५१ जना आँखाका विरामीलाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले भने, ‘भौगोलिक रुपमा जिल्लाकै अति विकट हरिहरपुरगढी गाउँपालिकाका बृद्ध–बृद्धालाई प्राथमिकतामा राखेर धेरै संघर्षका बीच शिविर सम्पन्न भयो । गाउँपालिका भित्रका बृद्ध–बृद्धामा आखाँ कम देख्ने समस्या हुदाँ समाज र परिवारबाट अपहेलित भएर बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।’

हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले भनिन्, ‘गाउँपालिकाका हरेक गतिविधि प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएको छ । यसले विपन्न वर्ग तथा बृद्धबृद्धाको जीवनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने गरी अगाडि बढाइएको छ ।’

उनले फेरि थपिन्, ‘गाउँपालिकाभित्र बसोबास गर्ने जनता जबसम्म स्वस्थ रहन सक्दैनन् तबसम्म गाउँपालिका बिकास र समृद्धि तर्फ अगाडि बढ्न सक्दैन ।’

हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान, जोय फाउण्डेसन काठमाडौंको प्रविधिक सहयोग र श्रेष्ठ समाज सिन्धुलीको समन्वयमा उक्त आँखा शिविर सञ्चालन गरिएको थियो ।

LIVE TV