१९ माघ २०७६, आईतवार

काठमाडौं, १९ माघ । आइतवार बसेको राष्ट्रिय सभा बैठकमा राजधानीमा सञ्चालित फिटनेस सेन्टरबारे प्रश्‍न उठेको छ। बैठकको विशेष समयमा बोल्दै सांसद बिमला राई पौडेलले काठमाडौंका फिटनेस सेन्टरहरुको गुणस्तर र मापदण्डबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले गत माघ १५ गते ललितपुरस्थित विशाल चोकमा रहेको फिट एण्ड फाइन एरोविक्स फिटनेस सेन्टरमा साउना लिन गएका हस्त गर्बुजा पुन मगर र नेत्र कुमारी मगर दम्पत्तिको मृत्यु भएको प्रसंग उठाउँदै जथाभावी राजधानीमा च्याउ उम्रेसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभएको हाे ।

उहाँले भन्नुभयो – ‘फिटनेस सेन्टरको व्यवस्थापनका कुराहरु जस्तो यसको रजिष्ट्रेशन कहाँ हुन्छ ? यसको मापदण्ड के हो ? काम गर्ने कर्मचारीले कति पढेको हुनुपर्छ ? दुई जनाको मृत्यु भएपछि हाम्रो आँखा खुल्नु पर्ने हो । फिटनेस सेन्टर मापदण्डअनुसार खुलेका छन् कि छैनन् ? ‘

गत माघ १५ गते ललितपुरस्थित विशाल चोकमा रहेको फिट एण्ड फाइन एरोविक्स फिटनेस सेन्टरमा ‘साउना बाथ’मा नुहाउने क्रममा हस्त गर्बुजा मगर र उनकी श्रीमती नेत्रकुमारी मगरको निस्सासिएर ज्यान गएको थियाे ।

LIVE TV