१९ माघ २०७६, आईतवार

काठमाडाैँ, १९ माघ । नोबल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ चीनमा रहेका नेपाली विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन फारम भरेका छन् ।

सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार (फेब्रुअरी २ तारिख)काे बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय गरेको थियो ।

फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या भने ३५ मात्र रहेको दूतावासले जनाएको हो ।

हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ नेपाली विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ ।

यता, सरकारले भने चीनबाट फर्काइएका नेपालीलाई १५ दिन क्लोज क्याम्पमा राख्ने तयारी गरेको छ । चीनमा भएका १ सय ७७ नेपालीलाई स्वदेश फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो ।

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने सुनिश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ । आइसोलेसनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ ।

सरकारले भने इबोलाको प्रकोप फैलिएका मुलुकहरुबाट फर्किएका सैनिकलाई यसअघि शिवपुरी ब्यारेकमा क्वारेन्टाइनमा राखिएको स्मरण गर्दै उक्ता स्थानलाई नै पहिलो सम्भावित स्थलका रुपमा हेरिएको समेत जनाएको छ ।

त्यसबाहेक राजधानी नजिकको सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई पनि ती विद्यार्थी राख्ने सम्भावित ठाउँका रूपमा हेरिएको छ ।

LIVE TV