१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दललाई सरकारको निगरानी गर्ने पार्टीका रुपमा लिइन्छ । अहिले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल हो । के प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारको काम कारवाहीलाई प्रत्यक्ष निगरानी गरेको छ त ? प्रश्न उठ्न थालेको छ । कतिपयले कांग्रेस सत्ताको सहयोगी अर्थात नेपाल कम्युनिष्ट पार्टी नेकपाको सहयात्री दल जस्तो बन्यो भन्ने आलोचना पनि सुनिन थालेको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सबैभन्दा सहयोगी कांग्रेस सभापति शेरबहादुर देउवा हुन् ?’ केहीदिन अघि कांग्रेसभित्रै र विश्लेषकहरुले उठाएको प्रश्न हो, यो । पार्टीभित्रै आलोचना खेप्न पुगेका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दलसँग खासै ‘डर’ छैन । नेकपाभित्र हुने चर्चा हो, यो । यही पृष्ठभूमिमा कांग्रेसले गठन गरेको छायाँ सरकार काम नलाग्ने अवस्थामा छ । वाइड वडी, ललिता निवास जग्गा प्रकरण, यती प्रकरणमा कांग्रेसको प्रस्तुती सहयोगी नै रहेको धेरैले निष्कर्ष निकालेका छन् ।

कांग्रेसले छाडेका विषयः

–बाइड बडी प्रकरण
–चिनी उद्योगीबाट पीडित किसानको मागमा मौन
–बालुवाटार जग्गा प्रकरण
–नेपाल ट्रष्टको जग्गा यती होल्डीङ कम्पनीलाई २५ वर्षका लागि विना प्रतिस्पर्धा लिजमा दिइएको
–सीमा विवादबारे समाधान गर्न सरकारलाई जिम्मेवारी दिदै कांग्रेस पन्छिनु
–कोरोना भाइरसले देशै आतंकित हुदा छायाँ सरकारका स्वास्थ्यमन्त्रीको मौनता
–मूल्यबृद्धी र कालोबजारीमा मौनता
यति धेरै महत्वपूर्ण विषयमा मौन बनेका कांग्रेस नेताहरु विषय उडान गर्न नछाडेको अभिव्यक्ति दिंदै आएका छन् ।

व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेकै कारण कांग्रेसको छायाँ सरकार ओझेलमा परेको कतिपयको ठम्याई छ । सत्तारुढ दलले समेत कांग्रेसका स्वच्छ छवि भएका नेताहरु ओझेलमा परेको आरोपसम्म लगाएको छ ।

राजनीतिका जानकारले पनि प्रमुखप्रतिपक्षी दल आन्तरिक झगडामा फसेका कारण भूमिका कमजोर भएको बताएका छन् । प्रमुख प्रतिपक्ष दलको दायित्व रचनात्मक हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता हो । तर, कांग्रेस खबरदारी गर्नेभन्दा पनि भाग खोज्न तल्लिन रहेको निष्कर्ष निकाल्नेहरु धेरै छन् ।

LIVE TV