१८ माघ २०७६, शनिबार
  • बालबिक्रम कार्की,

रौतहट, १८ माघ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सम्पन्न चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को उपाधि आयोजक रौतहटको चन्द्रपुर नगरपालिकाले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा चन्द्रपुरले स्याङ्जाको वालिङ्ग नगरपालिकालाई हराउँदै उपाधि हात पारेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा चन्द्रपुरले वालिङ्गलाई ट्राइबेकरमा पराजित गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुबै टिमले कुनै पनि गोल गर्न नसक्दा खेल छिनोफानोका लागि ट्राइबेकरमा पुगेको हो । ट्राइबेकरमा चन्द्रपुरले वालिङ्गलाई ४–३ गोलले पराजित गर्दै विजेता बनेको हो ।

उपाधिसँगै चन्द्रपुरले ट्रफी नगद ३ लाख नगद पुरस्कार हात पारेको छ । सह–विजेता बनेको वालिङ्गले ट्रफी र नगद १ लाख ५० हजार नगद पुरस्कार पाएको छ । विजेतालाई चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरत्ती चौधरीले पुरस्कार वितरण गर्नुभएको हो ।

चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएकोे फाइनल खेलमा खेल अवधिभर दुवै टिमले गोल गर्ने प्रयास गरेका थिए ।

हजारौँ संख्यामा उपस्थित घरेलु दर्शकको सर्मथन पाएको चन्द्रपुरका खेलाडीलेहरुले गोल गर्न गरेका प्रयासहरु वालिङ्गका रक्षापंक्तिका खेलाडीहरु प्रतीक्षा चौधरी, सरिश्मा थापा, पुष्पा गुरुङ्ग तथा सरु हमालले विफल पारिएदिएका थिए ।

चन्द्रपुरका खेलाडीहरुका केही सुन्दर प्रहारहरुलाई वालिङ्गकी गोलरक्षक सावित्री किसनले उत्कृट वचाउ गर्दै विफल पारिदिएकी थिइन् ।

चन्द्रपुरको तर्फबाट कप्तान मेनुका नगरकोटी, सविता राना मगर, रोजनी ठोकर, रोजिना श्रेष्ठले दर्शनीय खेल प्रदर्शन गरेका थिए । खेलको अन्त्यतिर चन्द्रपुरकी रोजिना श्रेष्ठले गरेको प्रहार पहिलो बारमा ठोक्किएर बाहिरिएको थियो ।

ट्राइब्रेकरमा चन्द्रपुरको तर्फबाट सलोनी राना मगर, अस्मिता वैद्य र गोलकिपर सपना राईले गोल गर्न सफल भएकी थिइन्, भने कप्तान मेनुका नगरकोटीको प्रहार वालिङ्गकी गोलकिपर सावित्री किसनले विफल पारेकी थिइन् ।

चन्द्रपुरकी रोजिना श्रेष्ठको प्रहार भने पोल माथिबाट बाहिरिएको थियो । त्यसैगरी वालिङ्गको तर्फबाट मनमाया दमाई, पुष्पा गुरुङ्ग, प्रतीक्षा चौधरीले गोल गर्दा कप्तान सरस्वती हमाल र गोलकिपर सावित्रा किसनको प्रहार चन्द्रपुरकी गोलकिपर सपना राईले बचाएकी थिइन् ।

दुबै टिमको ५–५ जना खेलाडी ट्राइबेकर प्रहार गर्दा पनि खेल बराबरी भएपछि सडेन डेथमा चन्द्रपुरकी सविता राना मगरले गोल गरेकी थिइनभने वालिङ्गकी सरु हमालको प्रहार गोलपोष्टमा ठोक्किएर बाहिरिएको थियो ।

खेलको ‘वुमन अफ द म्याच’चन्द्रपुरकी सपना राई घोषित भइन् । प्रतियागिताकोे उत्कृष्ट स्ट्राइकर चन्द्रपुरकी रजनी ठोकर, उत्कृष्ट डिफेन्डर चन्द्रपुरकी समीक्षा घिमिरे, चन्द्रपुरकै सविता राना मगरले उत्कृष्ट मिडफिल्डर उपाधि जित्दा वालिङ्गकी सावित्री किसन उत्कृष्ट गोल किपर घोषित भइन् ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक चन्द्रपुरकै नुराज काफ्ले बन्न सफल भए । विजेताहरुले जनही १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै चन्द्रपुरकी रजनी ठोकरले यामाहाको स्कुटर जित्न सफल भइन् ।

माघ १० गतेदेखि सुरु भएको सो प्रतियोगितामा बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, चन्द्रपुर नगरपालिका रौतहट, बिदुर नगरपालिका नुवाकोट र चौदण्डीगढी नगरपालिका उदयपुर, वालिङ्ग नगरपालिका स्याङ्जा, बाँसगढी नगरपालिका बर्दिया, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विराटनगर महानगरपालिका मोरङ्गले सहभागिता जनाएकाथिए ।

यस प्रतियोगितामा उत्कृष्ट चारमा पर्न सफल टिमहरुले राष्ट्रिय महिला लिग खेल्ने आयोजकले जनाएको छ ।

LIVE TV