१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । नेकपाका केन्द्रीय कमिटी बैठकमा निर्माण गरिएका १५ वटै समूहले आफ्ना विभिन्न सुझाव सहित रिपोर्ट प्रस्तुत गरेका छन् ।

बुधबारदेखि सुरु भएको बैठकको चौथो दिन समूहका टोली नेताले पार्टी र सरकारका विषयमा विभिन्न धारणा समेटेको रिपोर्ट प्रस्तुत गरेका हुन् ।

खासगरी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमा माथि छलफल गर्ने जिम्मेवारी पाएका समूहले पार्टी र सरकार सुदृढ बनाउन विभिन्न सुझावहरु पेश गरेका छन् ।

समूहको सुझावमा एमसीसीमा पार्टीेले साझा धारणा बनाउनु पर्ने, सरकारको कामकारवाही प्रभावकारी बनाउनु पर्ने, पार्टीभित्रको गुटबन्दीको अन्त्य हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण आफैँबाट सुरुवात हुनुपर्ने लगायतका माग छन् ।

यस्तै, नेताको सम्पत्तिको छानविन गर्नु पर्ने, शिक्षा र स्वास्थ्यमा लगानी बन्द गर्नु पर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग समेत गरिएको छ ।

समूहका नेताले पार्टीमा केन्द्रमा मात्र नभई सबै कमिटीमा उपाध्यक्ष पद खडा गर्नु पर्ने, सबै कमिटीमा ३३ महिला सहभागिता अनिवार्य गर्नु पर्ने लगायत सुझाव पेश गरेका हुन् ।

समूह नेताको सुझाव पेशपछि बैठकमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रमुखहरुले आफ्नो धारणा राखेपछि आजलाई बैठक सकिएको छ ।

अब भोलि आइतबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र दाहालसँगै सचिवालयका अन्य सदस्यहरुले पार्टीमा उठेका प्रश्नको जवाफ दिने छन् ।

बैठकको समापन कार्यक्रममा यसअघि ओलीले सम्बोधन नगर्ने कार्यसूची थियो । तर ओली नेतृत्वको सरकारका कामकारवाही र निर्णयलाई लिएर व्यापकरुपमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि ओलीले नै जवाफ दिने कार्यतालिका बनाइएको छ ।

LIVE TV