१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । मछिन्द्र क्लव शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा विशाल राई ’बी’ र रञ्जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे । खेलमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले जित निकालको हो । रोमाञ्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । दोस्रो हाफमा भने मछिन्द्र खेलमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त गर्यो । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । तर, रञ्जितले पेनाल्टी जस्तो सुन्दर मौकालाई पहिलो प्रहारमा गोलमा परिणत गर्न नसके पनि एपीएफका गोलरक्षक राजु योगीले बचाउने क्रममा फर्किएको बललाई उनले जाली चुमाएका थिए ।

जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । यस्तै, शनिवार भएको पहिलो खेलमा थ्री स्टारले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकाल्न सफल भयो । त्रिपुरेश्वरथित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्यो । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ ।

LIVE TV