१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । ‘अकुपाई टुँडिखेल’ले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ ।

शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरु सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

अकुपाई टुँडिखेलका अभियन्ताहरुले अहिलेसम्म आफूहरुले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन् ।

त्यस्तै, अभियानले टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लङ्घन भएकोले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने पनि आगामी कार्यक्रम तय गरेको छ ।

युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त–अमूर्त सम्पदाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने र चेतनशील नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझाबलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि सङ्घर्ष गर्ने पनि अरु कार्यक्रम रहेको अभियानले जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले टुँडिखेलको संरक्षणको लागि आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको सुनाउँदै यो अभियानलाई सार्थक बनाएरै छाड्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘म संसदको वातावरण समितिमा रहँदापनि यो बारेमा बोलेको थिएँ । मैले निरन्तर आवाज उठाउँदै आएको छु ।’ टुँडिेलको संरक्षणको लागि आफूले संसदमा समेत आवाज उठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो काठमाडौंको लाईफलाईन हो । यसको रक्षा गर्नु हामी सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । यो अभियानलाई सफल बनाउनुपर्छ । तीनै तहका सरकार हाम्रो मागप्रति गम्भिर होउन् ।’

त्यस्तै, वीर अस्पतालका पूर्व निर्देशक डा. भूपेन्द्र बस्नेतले टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अध्यावाश्यक र महत्वपूर्ण स्थान भएको सुनाउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा वीर अस्पताल भनेको स्वास्थ्य क्षेत्रको हब हो, भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भनेपनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्ने सरकारको रणनीति छ। यो कुरालाई सबैले ध्यान दिनुपर्छ ।’

संस्कृति तथा इतिहासविद् योगेन्द्र श्रेष्ठले टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल भएको सुनाउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरु यो ठाउँमा हुने गरेका छन् । त्यसैले यो क्षेत्रलाई पुरानै स्वरुपमा फर्काउनुपर्छ ।’

कार्यक्रममा अभियानका प्रवक्ता सञ्जय अधिकारीले जारी विज्ञप्ती वाचन गर्नुभएको थियो ।

उक्त अभियानले पुर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मुर्त तथा अमुर्त अवयवहरूको अस्तित्व संरक्षण र संवर्द्धन गर्न लगाउने तथा काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न जनदबाब दिनको लागि यही माघ २३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेट्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अभियानले अहिलेसम्म हाँसिल गरेको उपलब्धिमा खुल्ला ठाउँको पक्षमा जनमत निर्माण गरेको, स्थानीय सरकारलाई झकझक्याई उत्तरदायी बनाउने प्रयास गरेको, पूर्व प्रधानमन्त्री, तत्कालीन शहरी विकास राज्यमन्त्री, पूर्व मन्त्रीलगायत प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि लगायतका राजनीतिज्ञहरुलाई भेटेको र उनीहरुलाई झक्झकाएको, नागरिक समाजका अगुवाहरुलाई भेटेर झक्झकायो, वडा नं २८ लाई यो सम्बन्धमा संवेदनशिल बनाई टुँडिखेलको अतिक्रमण हटाउन सहकार्य गरेको, का.म.पामा पटक पटक निवेदन दर्ता गरी न्यायिक समितिको संयोजक लगायतबाट अनुगमन गराई सोको प्रतिवेदन पेश गराइएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएको सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरुवात गरेको उल्लेख गरेको छ ।

प्रेस विज्ञप्ति

काठमाडौं, २०७६-१०-१८

प्राकृतिक रूपमा काठमाडौंको फोक्सो (अर्थात् स्वच्छ हावाको श्रोत), भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक राजनैतिक परिवर्तनको साक्षीको रूपमा रहेको खुल्ला मञ्च भएको क्षेत्र तथा दैविक प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको टुँडिखेल दिन प्रतिदिन मासिदैं गएको छ ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत ,सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ र हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ ।

झट्ट हेर्दा टुँडिखेल अझै पनि खुल्ला सार्वजनिक क्षेत्र जस्तै देखिन्छ तर सो क्षेत्र खुल्ला सार्वजनिक क्षेत्रबाट बिस्तारै सरकारी जग्गामा परिणत हुँदैछ ।
सार्वजनिक जग्गा भन्नु र सरकारी जग्गा भन्नु एउटै कुरा होइन सार्वजनिक जग्गाको हकमा सरकार केवल न्यासी(Trustee) मात्र हो र सरकारले सो क्षेत्रको व्यवस्थापन मात्र गर्न सक्छ तर त्यसको मूर्त अमूर्त अस्तित्व माथि असर पार्न सक्दैन ।

सार्वजनिक खुल्ला क्षेत्र हामीले हाम्रो पुर्खाबाट जसरी पायौं जे प्रयोजनको लागि पायौं त्यहि अनुरूप अन्तरवंशीय न्याय गरी आउने सन्ततिलाई दिनुपर्ने नै मान्यता र सार्वजनिक न्यासको सिद्धान्त समेत हो ।

खुल्ला क्षेत्रहरूमा जनताको सहज पहुँच हुनुपर्ने यसको अर्को महत्वपुर्ण पक्ष समेत हो जसलाई सम्मानित सर्वोच्च अदालतले विभिन्न मुद्दामा विस्तृत विवेचन गरेको छ । तर हाल सरकार तथा सो मातहतकै निकायहरूबाट सो सार्वजनिक क्षेत्र अतिक्रमण हुँदै छ जुन दुःखदायी छ ।

सन् २००२ देखि टुँडिखेल वरपर संरक्षणको लागि भन्दै आवास तथा शहरी विकास विभागले फलामे बार लगाए सँगै टुँडिखेल भित्र सामान्य नागरिकको सहज पहुँच हुनबाट रोकियो भने स्थानीय सरकार आएपछि पनि नागरीकको सहज पहुँच हुने वातावरण बन्न सकेन ।

स्थानीय सरकार संचालन ऐन २०७४ विद्यमान रहँदा समेत टुँडिखेलमा कुनै पनि कार्यक्रम गर्दा स्थानीय सरकार आएपछि समेत अनुमति नेपाली सेनासँगै माग्नुपर्ने स्थिति हाल समेत कायम छ ।

हाल सानो टुँडिखेल जनताको खेल मैदानबाट नेपाली सेनाको खेल मैदानमा परिणत भएसँगै टुँडिखेलको एक महत्त्वपूर्ण अंश सानो टुँडिखेल समेत जनताको पहुँचबाट टाढा हुन पुगेको छ ।

यसको साथै भुकम्प गएको यत्रो समय बित्दा समेत भौतिक संरचनाहरूको अवशेष, माटोको थुप्रो, भौतिक निर्माणका सामाग्री, भवन निर्माण गर्नेहरूको वासस्थान तथा कार्यालयले टुँडिखेल अतिक्रमित छ ।

यसका साथै टुँडिखेलको खुलामञ्च २४ कार्तिक २०७२मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक भ्यू टावरको शिलान्यास गरिए सँगै त्यहाँ स्थित बसपार्कलाई खुलामञ्चमा सारे सँगै त्यहाँका रूखहरू काटिएका छन् र अनधिकृत रूपमा सो क्षेत्र पार्किङ्ग र व्यापारिक प्रयोजनको लागि प्रयोग भइरहेको छ ।

किन अकुपाई टुँडिखेल ?

सरोकारवाला निकायको अकर्मण्यताका कारण देशका खुल्ला ठाउँहरू भटाभट मासिदैं गएको परिपेक्षमा सचेत नागरिकको हिसाबले टुलुटुलु हेरेर बस्न मात्र नसकेपछि साथै संविधानको धारा ४८(घ)ले समेत सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्धन गर्न दिएको दायित्व अनुरूप काठमाडौंको मध्य भागमा अवस्थित टुँडिखेल बचाउन विश्व स्वतन्त्रता दिवसको अवसरमा कात्तिक २३ गते शनिवार बिहान ८ बजे खुलामञ्चमा मानव साङ्लो बनाइयो ।

त्यससँगै त्यहाँ उपस्थित जनभावना अनुरूप पहिलो चरणको लागि जनतादेखि जनप्रतिनिधिसम्म टुँडिखेलको महत्व र उपयोगिताको बारेमा बहस चलाउँदै सबैलाई उत्तरदायी बनाउन तथा सो क्षेत्रका अतिक्रमणहरू हटाउन पहिलो चरणमा ३ महिनाको लागि नागरिक अभियान “अकुपाई टुँडिखेल” सुरु गर्यौं ।

तीन महिनामा हामीले के-के गर्यौं ?

स्वतन्त्रता दिवसका दिनबाट अतिक्रमित टुँडिखेललाई मुक्त बनाउने हिसाबले प्रथम चरणमा तीन महिनाका लागि टुँडिखेलमा प्राकृतिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक र राजनीतिक महत्व उजागर गर्ने विभिन्न किसिमका क्रियाकलापहरु प्रत्येक शनिबार टुँडिखेल आसपासमा गर्यौं ।सो कार्यक्रमहरू निम्न अनुसार रहेका छन् :

  • पहिलो हप्ताः मानव साङ्लो
  • दोस्रो हप्ताः खरिको बोट पुर्नस्थापना
  • तेस्रो हप्ताः साहित्यिक सम्मेलन
  • चौथो हप्ताः सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तक बारे छलफल
  • पाचौं हप्ताः खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्डो प्रदर्शनी
  • छैठौँ हप्ताः खुलामञ्चमा जनताको डोजर लगेर सरसफाईको थालनी
  • सातौं हप्ताः स्थानियको खुलामञ्चसँगको कथा र स्मृति वाचन
  • आठौं र नवौं हप्ताः खुलामञ्चमा चित्र निर्माण तथा सरसफाई
  • दशौं हप्ताः सवारी रहित खुलामञ्च बनाउने सुरुवात स्वरूप का.म.पा वडा नं २८को सहकार्यमा सूचनाहरू टाँसियो
  • एघारौं हप्ताः “हामी नबिर्सौं” भन्ने शीर्षक सहित खुल्ला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी
  • बाह्रौ हप्ताः वीर अस्पताल र दरबार हाई स्कुलका अधिकारीहरूसँग छलफल
  • तेहौं हप्ताः पत्रकार सम्मेलन

हाम्रो उपलब्धि

  • -खुल्ला ठाउँको पक्षमा जनमत निर्माण गर्यौं ।
  • -स्थानीय सरकारलाई झकझक्यायौं र उत्तरदायी बनाउने प्रयास गर्यौं ।
  • पूर्व प्रधानमन्त्री, तत्कालीन शहरी विकास राज्यमन्त्री, पूर्व मन्त्री लगायत प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि लगायतका राजनीतिज्ञहरुलाई भेट्यौं र झकझक्यायौं ।
  • नागरिक समाजका अगुवाहरुलाई भेट्यौं र झकझक्यायौं ।
  • -वडा नं २८ लाई यो सम्बन्धमा संवेदनशिल बनाई टुँडिखेलको अतिक्रमण हटाउन सहकार्य गर्यौ ।
  • -का.म.पामा पटक पटक निवेदन दर्ता गरी न्यायिक समितिको संयोजक लगायतबाट अनुगमन गराई सोको प्रतिवेदन पेश गराइयो।
  • -वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएको सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरुवात भयो ।

के भएन

  • स्थानीय सरकार संचालन ऐन २०७४ले दिएको अधिकार दायित्व बोध गराइ स्थानीय सरकारलाई उतरदायी बनाउन सकेनौं ।

अबको बाटो

  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ११(२)(क)(२) (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, दफा ११(२)(क)(२) (ट)ले सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने दायित्व स्थानिय सरकारलाई दिएको छ।
  • सोहि अनुसार हाम्रा पिता पूर्खाले हस्तान्तरण गरेको पुर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मुर्त अमुर्त अवयवहरूको अस्तित्व संरक्षण र संवर्द्धन गर्न लगाउने तथा काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न जनदबाब दिन मिति २०७६-१०-२३ गते का.म.पा प्रमुखलाई भेट्ने ।
  • वातावरण संरक्षण ऐन २०७६को दफा ३०मा भएको वातावरण संरक्षण क्षेत्र सम्बन्धी विशेष व्यवस्थाको उपदफा (१) बमोजिम नेपाल सरकारले प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग परामर्श गरी वातावरण संरक्षणका दृष्टिले अति महत्वपूर्ण मानिने प्राकृतिक सम्पदा वा सौन्दर्यपरक स्थल वा ऐतिहासिक वा सांस्कृतिक महत्वका स्थललाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वातावरण संरक्षण क्षेत्र कायम गर्न सक्ने व्यवस्था भएकोले पुर्ण टुँडिखेललाई यस क्षेत्रको मुर्त अमुर्त सम्पदामा असर नपर्ने गरी संरक्षण गर्न जनदबाब दिने ।
  • प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका विभिन्न समितिमा गई सो टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने ।
  • टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लङ्घन भएकोले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने ।
  • युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदा प्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने।
  • चेतनशिल नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि सङ्घर्ष गर्ने

मुक्त टुँडिखेल अभियानका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न हुने सम्पूर्ण चेतनशील सार्वोभौमसत्ता नेपाली जनतालाई धन्यवाद दिदैं आगामी सङ्घर्षमा समेत साथ र सहयोगको अपेक्षा गर्दछौं ।

LIVE TV