१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । काठमाडौं उपत्यकामा चार सय भन्दा बढी हिटी अर्थात ढुंङ्गेधारा छ । तर, अधिकांश अस्त्विमा नै छैनन् भने कतिपय पुरिएका छन् ।

सुन्धारामा रहेको ढुंगेधारा हेर्न त पाइन्छ तर, पानी आउँदैन । यस्ता हिटीहरुको संरक्षणका लागि आवाज उठ्न थालेका छन् ।

यो काठमाडौंको सुन्धारामा रहेको ढुंगेधारा हो । सुनौलो धाराकै नामबाट यो ठाउँको नाम सुन्धारा भएको हो । तर, यहाँ अहिले पानी आउँदैन । कुनै समय सुन्धारा आसपासका मानिसहरु यही ढुंगेधाराको पानी उपभोग गर्थे ।

सुन्धाराबाट नजिकै रहेको तीनधारा अर्थात हाल संस्कृत अध्ययन गर्ने विद्यार्थीका लागि बनाइएको छात्राबास नजिक पनि ढुंगेधारा रहेको थियो । यो अहिले मिचिएको छ ।

कुनै समय तीन वटा धारा रहेको यो क्षेत्रमा ती धाराहरुको अवषेश पनि पाइदैन । काठमाडौं उपत्यकामा यस्ता धेरै उदाहरणहरु छन् । हिटी अर्थात् ढुङ्गेधाराको संरक्षण नभएको भन्दै हिटी संरक्षण अभियन्ताहरुले ¥याली आयोजना गरी विरोधमा गरेका छन् ।

विगतमा राजधानीको अधिकांश ठाउँको माग धानेको ढुङ्गेधाराहरु अहिले प्रायः सुकेका छन् । यसको संरक्षणमा कसैले चासो देखाएका छैनन् । रैथाने काठमाडांैबासी अहिले चिन्तित छन् ।

पानीको अभाव खेपिरहेको काठमाडौंलाई यी परम्परागत स्रोत निकै उपयोगी हुन सक्थे । पानीका स्रोतहरु घट्दै जाँदा यस्ता प्राचीन र सांस्कृतिक ढुङ्गेधाराको आवश्यकता महसुस हुन्छ । तर, संरक्षणमा राज्य मौन बनेको अभियन्ताहरुको टिप्पणी छ ।

काठमाडौं उपत्यकामा चार सय भन्दा बढी ढुङ्गेधारा रहेको तथ्याङ्क राष्ट्रिय अभिलेखालयसँग छ । उपत्यकामा ढुंगेधारा अझै धेरै रहेको अनुमान छ । त्यसको खोजीसम्म हुन नसकेको अभियन्ताहरुले बताउँदै आएका छन् ।

LIVE TV