१८ माघ २०७६, शनिबार

दैलेख, १८ माघ । शिक्षक परिपूर्तिका लागि लिएको परीक्षामा अनियमितता भएको समाचार सम्प्रेषण गरेको भन्दै न्यूज २४ को दैलेखस्थित टिभी जर्नलिष्ट यमराज कटवाललाई दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कारवाही गर्ने चेतावनी दिएका छन् ।

टिभी जर्नलिष्ट यमराज कटवाल

गत माघ १३ गते नारायण नगरपालिका ५ दैलेखमा रहेको महेन्द्र माध्यामिक विद्यालयमा शिक्षकका लागि लिइएको परीक्षामा अनियमितता भएको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको कार्यकक्षमा गरिएको तालाबन्दीसम्बन्धी समाचार न्यूज २४ मा सम्प्रेषण भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सरोकारवालाहरुले अध्यक्ष पार्वती खड्का र प्रधानाध्यापक धनबहादुर रोकायाको कार्यकक्षमा ताला लगाएका थिए ।

यही समाचारलाई लिएर विद्यालय व्यवस्थापन समितिको तर्फबाट टिभी जर्नलिष्ट कटवालविरुद्ध उजुरी दिइएको बताइएको छ ।

शनिबार विहान उजुरी परेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी कट्टेलले मिलापत्र गर्न आग्रह गर्दै मिलापत्र नभए कारवाही गर्ने चेतावनी कटवाललाई दिएका छन् ।

कटवालले समाचार सत्य भएको र परीक्षामा भएको अनियमितता नसच्याएसम्म आफू पछि नहट्ने जानकारी प्रजिअ कट्टेललाई गराएका छन् ।

LIVE TV