१८ माघ २०७६, शनिबार
  • रोशन दानी

काभ्रे, १८ माघ । स्थानीय तहमा नपत्याउँदो तवरले भ्रष्टाचार मौलाउँदै गएको छ । स्थानीय सरकारलाई नियमन गर्ने निकाय सशक्त र प्रभावकारी नहुँदा हरेक स्थानीय तहमा मनलाग्दी बढ्दै गएको छ । मुलुकभरका स्थानीय तह नियमन गर्ने संयन्त्र नै कमजोर रहेको सरोकारवालाले बताउँदै आएका छन् ।

यसै क्रममा नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको प्राकृति एवम् खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कमा चरम लुट भइरहेको तथ्य सार्वजनिक भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर- ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर-रेटअनुसार राजस्व संकलन गर्दै आएकोमा अनियमितता फेला परेको हो ।

नमोबुद्ध नगरपालिकाको छापसहित रहेको बिलमा तीन हजारको बिल काटेर एक हजार मात्र देखाउँदै आएको तथ्य फेला परेको छ । (हेर्नुहाेस् तलका २ तस्वीरमा बिल नं र हिसाब)

नगरपालिकाकै कर्मचारीको मिलेमतोमा करोडौ भ्रष्टाचार भईरहदा पनि स्थानीय तह मौन रहेको छ । तीन भागमध्ये दुई भाग स्रोत–साधनमा भ्रष्टाचार भइरहँदा पनि नगरपालिका मौन हुनुले शंका उब्जाएको छ ।

नमोबुद्ध नगरपालिकाले राखेको ‘ढाट’मा खटिएका कर्मचारीले सेवाग्राहीसँग तीन हजारको रसिद दिँदै नगरपालिकाको अर्धकट्टीमा भने १ हजार लेखेर राजस्व दाखिला गर्दै आइरहेका छन् ।

नगरपालिका कर्माचारीहरूले एउटा रसिदबाट सीधै दुई हजार रूपैयाँ झवाम पार्दै सेवाग्राही जनतामाथि ठाडो छारो हाल्ने काम भइरहेको स्रोत बताउछ ।

आर्थिक वर्षको शुरू साउन १ गतेदेखि माघ १४ गतेसम्म राजस्वका झन्डै ८ हजार रसिद काटिएका छन् ।

यस विषयमा नगरपालिका मेयर टिपी शर्मा तिमल्सिनासंग बुझ्दा राजस्वका सम्बन्धमा उठेका विषयमा छानबिन गर्न समिति गठन भएको जानकारी दिनुभयो । नगर प्रमुख तिमल्सिनाले ढाँटमा खटिएका कर्मचारी कमल कुइँकेललाई बोलाएर स्पष्टीकरण लिएको र थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले कर्मचारीमार्फत माघ १४ गतेसम्म १ करोड ९४ लाख राजस्व संकलन भएको बताएको छ ।

LIVE TV