१८ माघ २०७६, शनिबार
  • राजु पौडेल

झापा, १८ माघ । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेशिनेको संख्या बाक्लै छ । अझ युवापुस्ता देशमा केही गर्न नसकिने भन्दै वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । तर, स्वदेशमा नै बसेर गरे के हुँदैन र ? झापाको अर्जुनधाराका कृषक उन्नत जातका बाख्रापालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् । बाख्रापालनमा थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि विपन्न महिलाहरु समेत व्यावसायिक बन्न थालेका छन् ।

झापाको अर्जुनधारामा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । पराम्परादेखि चलिआएको बाख्रापालन व्यवसाय केही समयता व्यावसायिक रुपमै आधुनिक तवरबाट उन्नतजातका बाख्रापालनतर्फ मोडिएको छ । व्यावसायिक कृषकको संख्यामा समेत वृद्धि हुँदै गएको छ । कम लगानी र मिहिनेतमा सजिलैसँग बाख्रापालन गर्न सकिने भएपछि झापाका कृषक व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

अर्जुनधारा– ७ की ५० वर्षीया गीता चापागाईं अहिले ढुक्कले बाख्रा पालन व्यवसायमा रमाएकी छिन् । गर्दागर्दैको व्यापार छाडेर स्थानीय फूलमती खोलाको किनारमा रहेको ११ कठ्ठा जमिनमा उनले बाख्रा पाल्न सुरु गरिन् । गीताले पालेका बाख्राको दुई महिने पाठा ३५ देखि ४० हजार रुपैयाँमा बिक्री हुन थालेपछि नसोचेको आम्दानी हुँदा उनी मात्र होइन, देख्ने सुन्ने सबै आश्चर्यमा छन् । ‘बोयर जातको उन्नत बाख्राको दाम महँगो हुँदो रहेछ’ उनले भनिन्, ‘दुईमहिने पाठो ३५ देखि ४० हजारमा बिक्छ ।’

१० वटा बाख्रा किनेर फूलममी खोलाको किनार कैलाश घाटमा यो व्यवसाय शुरु गरेकी गीताको खोरमा अहिले ५० भन्दा बढी बाख्रा छन् । बाख्राले नै मनग्य आम्दानी दिने भएपछि उनी दंग मात्र छैनन्, विगतमा गरेको दुःख समेत बिर्संदै गएकी छिन् । गत वर्ष साउनबाट बाख्रा पाल्न शुरु गरेकी गीताले अहिले दुई जनालाई रोजगारी पनि दिएकी छिन् ।

यस्तै, अर्जुनधारा–९ खरवन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । दुई वर्षअघिबाट बाख्रापालन व्यवसाय शुरु गरेसँगै उनको परिचय पनि फेरिएको छ । ४ हजार ५०० रुपैयाँका दुईवटा बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गरेकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । जसका कारण अहिले उनको परिवारलाई पहिले जस्तो हातमुख जोड्न कुनै चिन्ता छैन ।

जिल्लामा रहेका सरकारी, गैह्रसरकारी र सहकारी संस्थाले पनि विभिन्न शीर्षकमा ऋण तथा अनुदानमा कृषकलाई बाख्रा वितरण गर्न थालेपछि झापामा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको पाइन्छ । अर्जुनधारा नगरपालिकाभित्र मात्रै झण्डै २०० भन्दा बढी महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको सहारा नेपाल संस्थाको पशु प्राविधिक सृजना आचार्यले बताईन् ।

झापाकै अर्जुनधारा–९ का कमल कडरीया पनि उन्नत जातको बोयर बाख्रा पालेर राम्रो आम्दानी गरिरहेका छन् । बोयरबाट भविष्यमा समेत राम्रो आम्दानी गर्न सकिने सोचेर कमलले अर्जुनधारा–९ मै आर.के. एग्रीकल्चर फर्म दर्ता गरी एक करोड ३५ लाखको लागतमा बोयर जातको बाख्रापालन सुरु गरेका हुन् ।

सरकारी स्रोतबाट केही सहयोग नलिएरै बाख्रापालन गरेका उनले विशेष नश्ल सुधारका लागि बाख्रा पालेको बताउछन् । हाल उनको फर्ममा ७० हजारदेखि तीन लाख रूपैयाँ मूल्यसम्मका बाख्रा रहेका छन् । माग उच्च रहेका कारण लोकल बाख्रा सँगसँगै उन्नत जातको बाख्रा पालेको उनको भनाइ छ । उनको फार्ममा रहेको बोयर जातका बाख्राका पाठापाठी खरिद गर्न आउनेको संख्या पनि बढ्दै गएको छ ।

यसरी झापाको अर्जुनधारा नगरपालिकाभित्र व्यावसायिक पशुपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । कोही विदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आबद्ध छन् । यसलाई व्यवस्थित गरी बजारीकरण सुनिश्चत गर्न भने आवश्यक देखिन्छ ।

बाख्रा पकेट क्षेत्र

अर्जुनधारा नगरपालिकाले यस वर्षदेखि ३ नम्बर वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ बाट नगरकै दुर्गम र विपन्न समुदायहरुको बसोबास रहेको अर्जुनधारा–३ स्थित भित्री गाउँका बासिन्दाको आर्थिकस्तर उकास्ने उद्देश्यले बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम ल्याइएको हो ।

व्यावसायिक बाख्रापालनको माध्यमबाट उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखामार्फत् कार्यक्रम सञ्चालन हुने नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।

शाखा प्रमुख पदमलाल राईका अनुसार सोही कार्यक्रमअन्र्तगत गत माघ ८ गते वडाध्यक्ष जीवकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न बाख्रापालक कृषकहरुको भेलाले अनुपा मग्रातीको अध्यक्षतामा नौ सदस्यीय भित्री गाँउ नयाँ बाख्रापालक कृषक समूह गठन गरेकोे छ ।

२० घरधुरीलाई लक्षित गर्दै सुरु गरिएको भए पनि उक्त कार्यक्रमबाट २८ घरधुरीका बाख्रापालक कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाट ११ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

LIVE TV