१८ माघ २०७६, शनिबार

काठमाडाैँ, १८ माघ । बेलायत युरोपेली संघबाट पूर्ण रूपमा बाहिरिएको छ ।

बेलायत युराेपेली संघमा करिब आधा शताब्दीअघि सदस्य बनेको थियो । संघबाट बेलायत बाहिरिएको घटना विश्व राजनीतिक व्यवस्थामा ठूलो घटनाको रुपमा हेरिएको छ ।

बेलायती समयअनुसार गएकाे मध्यरातबाट बेलायत पूर्णरूपमा संघबाट अलग भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संघबाट अलग भएको घटनालाई नयाँ बिहानी भनेका छन् ।

संघबाट बाहिरिने विषयमा संघका अन्य सदस्यहरु र बेलायतबीच तीन वर्षदेखि वार्ता चल्दै आएको थियो । जसमा निकै राजनीतिक खटपट पनि भएको थियो ।

ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवै पक्षले -याली, उत्सव र मैनबत्ती बाल्ने कार्यक्रम आयोजना गरेका छन् ।

अब संघबाट बाहिरिएसँगै बेलायत संक्रमणकालको चरणमा प्रवेश गरेकाे छ तर परिर्वतन भने खासै हुने छैन । सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन् ।

जस्तो कि यसै सालकाे डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् । त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य बेलायतले राखेको छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि देश अघि बढिरहनु पर्ने र संघसँग राम्रो सम्बन्ध बनाइराख्नु पर्ने धारणा राखेका छन् । उनले ठोस आधारबिना अमेरिकासँग सम्झौत गर्न नहुने बताएका छन् ।

LIVE TV