१७ माघ २०७६, शुक्रबार

काठमाडौँ, १७ माघ । किंवदन्तीमा सीमित हिम मानव यति, अहिले एकाएक चर्चामा छ । भ्रमण वर्ष २०२०को अवसरमा यतिको मुर्तिलाई पर्यटन प्रवद्र्धनका रुपमा प्रयोग गरिएको छ । तर, विभिन्न स्थानमा राखिएको यतिका मुर्ति वास्तविक र साझा परिकल्पना भन्दा अस्वभाविक र धार्मिक आस्थामा खलल पुग्ने किसिमका देखिएपछि विवाद देखिएको छ ।

भ्रमण वर्ष २०२०को प्रवद्र्धनका लागि भन्दै शहरका विभिन्न ठाउँमा बढेमानका मुर्ति राखिएका छन् । तर, झट्ट हेर्दा चिन्नै मुस्किल । तर उपत्यकाका ठाउँठाउँमा राखिएका यि मुर्ति विश्वमै खोजी भइरहेको हिम मानव अर्थात् यतिको भनेर राखिएको हो । तर अनुमानका भरमा मूर्ति बनाइएको र यसले यतीको अनुमानित आकार र स्वरुपको समेत खिल्ली उडाएको भनेर आलोचना भइरहेको छ । यतीको मूर्ति पछाडि मलद्वारमा मुख पर्ने गरी जीवित कुमारीको चित्र कोरिएको भन्दै यतीको मूर्तिलाई वसन्तपुर क्षेत्रबाट हटाइएको छ ।

सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए । इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःहरुले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको थियो । चित्र सम्पदामैत्री नभएपछि ‘स्प्रे’ गरी सबै चित्र मेटाइएको थियो । कुमारीको आकृति अशोभनीय तवरले यतीको पिठ्यूँमा राखिनुले धार्मिक आस्थामै प्रहार भएको सम्पदा अभियन्ता बताउँछन् ।

बौद्ध पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि त्यहाँ पनि मस्कट हटाइएको छ । मूर्तिको ‘स्केच’ कलाकार आङछिरिङ शेर्पाले बनाएका हुन् । कलाकार विजय महर्जनले स्केचलाई मूर्तिको स्वरुपमा ढालेका हुन् । करिब एक सयभन्दा बढी मूर्ति पर्यटकीय स्थल, प्रमुख चोक र विमानस्थलदेखि हिमालका आधार शिविरसम्ममा राखिएका छन् ।

किंवदन्तीमा रहेको यतिका भेटिएको भनिएको पाइला र टाउकाको हड्डीका आधारमा २०४० सालमै यतिको परिकल्पना गरि नेपाल वायु सेवा निगमको प्रांगणमा राखिएको थियो । अहिले भ्रमण वर्ष प्रचारका लागि राखिएको यतिको स्वरुप नै बिगारिएपछि यतिको आकृतिप्रति भ्रम सिर्जना हुनसक्ने जोखिम बढेको छ ।

LIVE TV