१७ माघ २०७६, शुक्रबार

काठमाडौँ, १७ माघ । चीनको हुवेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना नामक भाइरसले महामारीको रुप लिएपछि विश्वभर सतर्कता अपनाउन थालिएको छ । नेपालमा पनि यो रोगको संक्रमण बढेपछि त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन समिति गठन गरेको छ ।

नेपालमा समेत यस भाइरसका संक्रमित भेटिन थालेपछि गत आइतवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारमा बोलाएर सम्भावित जोखिम र यसको रोकथामका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।

सोही बमोजिम बिहीवार ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

उच्चस्तरीय अनुगमन समितिले कोरोना भाइरसबाट हुने सम्भावित संक्रमण रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ ।

LIVE TV