१७ माघ २०७६, शुक्रबार

काठमाडौँ, १७ माघ । एक नयाँ अध्ययनले नेपालमा रहेका पाँच वर्षमुनिका बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेको देखाएको छ ।

‘ग्लोबल फोरम फर चाइल्डहुड निमोनिया’ विषयक बार्सिलोनामा भएको गोष्ठीमा नेपालमा गत वर्ष निमोनियाकै कारण प्रत्येक दिन ६ बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएकाे हाे ।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

नेपालमा निमोनियाको संक्रमण कम गर्ने प्रयासस्वरुप विभिन्न सचेतनाका कार्यक्रमहरु गरिएतापनि वर्षेनी २३ हजार बालबालिकाको निमोनिया लगायत अन्य रोगका कारण मृत्यु हुने तथ्यांकले देखाएको छ ।

निमोनिया विशेषगरी विकासोन्मुख मुलुकका बालबालिकामा बढी देखिने गरेको छ । नेपालका पाँच वर्ष मुनिका बालबालिकामध्ये १३ प्रतिशतलाई यो रोग लाग्ने गरेको बताइएको छ ।

निमोनियाका केहि प्रकार छन् जस्तै- समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ-कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच बर्षसम्मका बालबालिकाहरुमा चाहिँ स्ट्रेप्टोकोकस निमोनिया, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्याक्टेरियाहरुले निमोनिया गराउँदछन् ।

त्यसैगरी, पाँच बर्ष भन्दा माथिका बालबालिकाहरुमा माइक्लोप्लास्मा निमोनिया र क्लामाइडिया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । एचआईभी एड्स भएका बालबालिकाहरुमा निमोसिस्टिक जेरोभेकाइ, माइकोब्याक्टेरियम ट्युबरकोलोसिस र फङ्गसमा एस्परजिलोसिसको संक्रमणले बालिकाहरुमा निमोनिया गराउँदछन् ।

केहि प्रकारका निमोनियालाई भ्याक्सिन र एण्टिबायोटिक दिएर कम गर्न सकिने भएपनि नेपालका ग्रामिण भेगका बालबालिका धेरै जसो स्वास्थ्य संस्था अभावमै उपचार नपाएर मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

यो रोग रोकथामका लागि नवजात शिशुहरुलाई पर्याप्त मात्रामा स्तनपान गराउने, त्यस्तै कुपोषण हुन नदिने, खोपहरु समयमा लगाउने र प्रदुषणबाट जोगाउन सुझाव गरिएको छ।

बालबालिकाहरुलाई रुघाखोकी र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परामर्ष तथा उपचारका लागि लैजानुपर्छ ।

LIVE TV