१६ माघ २०७६, बिहीबार

काठमाडौं, १६ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै विभिन्न विषयमा सम्बन्धित निकाय तथा व्यक्ति–विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. एउटै वडामा सञ्चालित ६ वटा खानेपानी आयोजनामा चरम अनियमितता !

रामेछाप, १६ माघ । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नम्बर २ मा मात्रै निर्माणाधीन ६ वटा खानेपानी आयोजनामा चरम अनियमितता भएको स्थानीयले गुनासो गरेका छन् ।

ठोसे खानेपानी आयोजना, गोब्रेटार खानेपानी आयोजना, सिंगटी खानेपानी आयोजना, थुम्की खानेपानी आयोजना, एकामफेदी खानेपानी आयोजना र लिसे खानेपानी आयोजनामा स्थानीय महेशलाल प्रधान र साविकको जिल्ला खानेपानी कार्यालयका कर्मचारीको मिलेमत्तोमा अनियमितता भएको स्थानीयले आरोप लगाएतका हुन् ।

६ वटा खानेपानी आयोजनको कुल बजेट, खर्च भएको बजेट र बाँकी रहेको बजेटका बारेमा न त उपभोक्ता समितिलाई जानकारी छ, न त जिल्ला खानेपानी एकाईलाई । अहिलेसम्म जिल्ला खानेपानी एकाईले यसको विवरण नै दिन सकेको छैन ।

२. कोरोना भाइरस : चीनमा रहेका नेपालीको उद्धारको प्रयास के हुँदैछ ?

काठमाडौं, १६ माघ । सुरुमा वुहान शहरबाट संक्रमण सुरु भएको कोरोना भाइरस चीनको सबै शहरमा फैलिएको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण हालसम्म १ सय ७० जनाको ज्यान गइसकेको छ । त्यस्तै संक्रमित हुनेको सङ्ख्या ७ हजार ७ सय ११ पुगेको छ । चीनमा मात्र होइन, विभिन्न १६ मुलुकमा समेत यसको संक्रमण फैलिएको बताइएको छ ।

भाइरस सुरु भएपछि चीनले अन्य शहरमा आवत–जावतमा लगाएको प्रतिबन्धका कारण नेपाली विद्यार्थीहरु होस्टलभित्रै बन्दी बनेका छन् । उनीहरुमा हालसम्म संक्रमण देखिएको छैन ।

LIVE TV