१६ माघ २०७६, बिहीबार
  • रिया भण्डारी

काठमाडौं, १६ माघ । कोरोना भाइरस फैलिएको चीनको वुहान शहरबाट बिहीबारसम्म १ सय ९० जना नेपालीले सरकारको सहयोग मागेका छन् ।

बेईजिङस्थित नेपाली दुतावासले सञ्चालन गरेको ‘वीच्याट’ र ‘ह्वाट्एप’ ग्रुप मार्फत उनीहरु सम्पर्कमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबारे जानकारी दिन मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा वुहानमा रहेका १ सय ९० जना नेपाली सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको बताइएको छ ।

आवश्यक परे अन्तर मन्त्रालयस्तरीय बैठक बसेर उनीहरुलाई नेपाल ल्याउन सकिने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले चीनबाट फर्किएकाहरुलाई कोरोना भाइरस छ कि छैन भनेर निगारानीमा राख्न छाउनीस्थित नेपाली सेनाको अस्पतालले बनाएको नयाँ ओपिडी भवन प्रयोग गर्न सकिने योजना बनेको बताएको छ ।

कोरोना भाइरसको इन्कुभेसन पिरियड दुई हप्ताको हुन्छ । चीनमा कोरोना भाइरसका कारण १ सय ७० जनाले ज्यान गुमाएका छन् । ८ हजार भन्दा बढी संक्रमित भएको पुष्टि भएको छ । चीनबाहेक विश्वका १६ देशमा कोरोना भाइरस फैलिएको छ ।

LIVE TV