१६ माघ २०७६, बिहीबार

काठमाडौं, १६ माघ । सुरुमा वुहान शहरबाट संक्रमण सुरु भएको कोरोना भाइरस चीनको सबै शहरमा फैलिएको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण हालसम्म १ सय ७० जनाको ज्यान गइसकेको छ । त्यस्तै संक्रमित हुनेको सङ्ख्या ७ हजार ७ सय ११ पुगेको छ । चीनमा मात्र होइन, विभिन्न १६ मुलुकमा समेत यसको संक्रमण फैलिएको बताइएको छ ।

भाइरस सुरु भएपछि चीनले अन्य शहरमा आवत–जावतमा लगाएको प्रतिबन्धका कारण नेपाली विद्यार्थीहरु होस्टलभित्रै बन्दी बनेका छन् । उनीहरुमा हालसम्म संक्रमण देखिएको छैन ।

तर, त्यहीँ बसिरहँदा उनीहरुमा पनि सर्ने सम्भावना रहेको छ । चीनमा फसेका नेपाली विद्यार्थीहरुले हाम्रो गएको कार्यक्रममा लाइभ कुरा गर्दै संक्रमण नहुँदै नेपाल आउन चाहेको बताएका थिए ।

अन्य देशले आफ्ना नागरिकहरुलाई धमाधम स्वदेश फर्काइरहेको छ । तर, नेपाल सरकारले आवश्यक पहल नगरेको उनीहरुको गुनासो थियो ।

अहिलेसम्म निश्चित उपचार पत्ता नलागेको यो रोगको लक्षण नेपालको सीमाना जोडिएका चीनको प्रान्त तीब्बत र भारतमा पनि देखिएको छ ।

नेपालमा पनि केही दिन अघि एक व्यक्तिमा यो भाइरस देखा परेको थियो । त्यसैले सबै सतर्क हुनु आवश्यक छ ।

LIVE TV