१६ माघ २०७६, बिहीबार

रामेछाप, १६ माघ । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नम्बर २ मा मात्रै निर्माणाधीन ६ वटा खानेपानी आयोजनामा चरम अनियमितता भएको स्थानीयले गुनासो गरेका छन् ।

ठोसे खानेपानी आयोजना, गोब्रेटार खानेपानी आयोजना, सिंगटी खानेपानी आयोजना, थुम्की खानेपानी आयोजना, एकामफेदी खानेपानी आयोजना र लिसे खानेपानी आयोजनामा स्थानीय महेशलाल प्रधान र साविकको जिल्ला खानेपानी कार्यालयका कर्मचारीको मिलेमत्तोमा अनियमितता भएको स्थानीयले आरोप लगाएतका हुन् ।

६ वटा खानेपानी आयोजनको कुल बजेट, खर्च भएको बजेट र बाँकी रहेको बजेटका बारेमा न त उपभोक्ता समितिलाई जानकारी छ, न त जिल्ला खानेपानी एकाईलाई । अहिलेसम्म जिल्ला खानेपानी एकाईले यसको विवरण नै दिन सकेको छैन ।

एक करोड ५० लाख बजेटको ठोसे खानेपानी आयोजनाको एउटा रिजर्भ ट्यांकी मात्रै बनाएर अलपत्र छाडिएको छ ।

कतिसम्म भने यो आयोजनाका लागि ल्याइएको सिमेन्ट बालुवा समेत उपभोक्ता समितिका एक व्यक्तिले निजी निर्माणमा प्रयोग गरेका थिए ।

खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय उपभाक्ता समिति भने खिम्ती खोलाको पानी बोकेर खान बाध्य छन् ।

कुनै पनि उपभोक्ता समितिमा सार्वजनिक सेवामा रहेका कर्मचारी बस्न पाइदैन तर, यहाँ बजेट हिनामिना कै लागि गुप्तेश्वरी आधारभुत विद्यालय एकामफेदीका शिक्षक समेत रहेका आशाकाजी श्रेष्ठ ३÷३ वटा उपभोक्ता समितिका कोषाध्यक्ष छन् । उनले योजनाका लागि आएको सिमेन्ट बालुवा बेचेको समेत आफैले स्वीकार गर्छन् ।

अधिकांश आयोजानमा उपभोक्ता समितिलाई जानकारी नै नदिई कोषाध्यक्षलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर आयोजनको आधा पैसा महेशलाल प्रधानले बुझेका छन् ।

लिसे खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्षलाई आयोजानको बजेट के–कति हो ? भन्ने जानकारी नै छैन । महेशलाल प्रधान लगाएतका व्यक्तिले अध्यक्ष बनाएको र पछि आयोजनाको पैसा नै पाएनन्, बरु आफ्नै पैसा खर्च गरेर केही काम गरेका छन् ।

यी आयोजनामा काम गरेका स्थानीयले तीन वर्ष वितिसक्दा पनि अहिलेसम्म ज्याल पाएका छैनन् । खानेपानी आयोजानको यो अवस्था हुँदा धारामा पानी कुरेर बसेका स्थानीय पानी लिन खोलामै पुग्नु पर्ने बाध्यता छ ।

यो विषयमा स्थानीयले गाँउपालिकादेखि अख्तियार दुरुपयोग अुनसन्धान आयोगसम्म उजुरी गरेका छन् । अहिले भने जिल्ला प्रसासन कार्यालय रामेछापले सहायक प्रमुख जिल्ला अधिकारीका नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेको छ ।

अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले प्राविधिक, उपभोक्ता समिति र विभागीय कार्यालयबाट अनियमितता भएको देखिएको बताए ।

अनियमितताका लागि मुख्य भूमिका रहेको आरोप लागेका महेशलाल प्रधानले आफू भने कुनै पनि आयोजनाको उपभोक्ता समितिमा नरहेको बताउँदै आएका छन् ।

LIVE TV