१६ माघ २०७६, बिहीबार
  • कृष्ण पाण्डे

बुटवल, १६ माघ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा दाङको लमहीमा स्थापना गरिएको लमही सामुदायिक डायलासिस सेन्टर आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा रहेको छ ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको डायलासिस सेन्टरले यही माघ २२ गते बिहान ११ बजेदेखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलासिस मेसिन जडानलगायतका सम्पूर्ण कामहरु पूरा भएकोले २२ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिनुभयो ।

हाल १० वटा मेसिनबाट बिरामीहरुको मृगौला डायलासिस गरिने र आवश्यकताको आधारमा थप मेसिन समेत जडान गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष आलमले लमहीमा डायलाईसिस सेवा शुभारम्भ भएपछि बिरामीहरुको आर्थिकसँगै समयको बचत हुनेछ र डायलासिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताउनुभयो ।

बुटवलदेखि पश्चिम घोराही र तुल्सीपुर अस्पतालमा दुई-दुईवटा डायलासिस मात्र रहेको अवस्थामा १० वटा मेसिनसहित लमहीमा स्थापना गरिएको सेन्टरबाट पश्चिम क्षेत्रका मृगौला-बिरामीहरु लाभान्वित हुने छन् ।

करिब ५ करोडको लागतमा १० वटा मेसिन जडान गरी शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जना र ९० जना बिरामीको नियमित डायलासिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हाल दाङ, प्यूठानलगायतका जिल्लाबाट २५ जना बिरामी नियमित डायलायसिसको लागि बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

LIVE TV