१६ माघ २०७६, बिहीबार

काठमाडौं, १६ माघ । सरकारले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी थ्रेसहोल्ड संशोधनको काम छिट्टै अघि बढाउने भएको छ । विदेशी लगानी आकर्षण तथा प्रवर्द्धन गर्न कानूनी तथा संरचनागत सुधार गर्ने क्रममा वैदेशिक लगानीसम्बन्धी थ्रेसहोल्ड संशोधनको काम छिट्टै अघि बढाउन लागिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

अर्थ मन्त्रालयमा स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्यान्डका पूर्वराजदूत योर्ग फ्रिडेनको नेतृत्व टोलीसँग बुधवार भएको भेटवार्तामा अर्थमन्त्री डा। खतिवडाले द्रुत विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता भएको बताए । उनले भने, ‘विदेशी लगानीकर्तालाई आकर्षण गर्न प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी थ्रेसहोल्ड संशोधन गर्ने तयारी हुँदै छ ।’ थ्रेसहोल्ड संशोधनसम्बन्धी छलफललाई पछिल्लो समयमा तीव्रता दिइएको उनको भनाइ छ ।

अर्थमन्त्रीका अनुसार विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया पनि अघि बढाइएको छ । गत चैतमा भएको लगानी सम्मेलनमार्पmत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र ऊर्जा मन्त्रीले आफ्ना अधिकांश विदेश भ्रमणमा सम्बद्ध देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहसमेत गरेका थिए ।

‘नेपाल लगानी सम्मेलन’ नै आयोजना गरेर अन्तरराष्ट्रिय लगानीकर्तालाई लगानी गर्न आग्रह गरिएपछि पनि त्यस्तो लगानी उत्साहजनक रूपमा नभएको सरकारी तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको पहिलो ६ महीनामा विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्ब छ, जुन गत आवको कुल प्रतिबद्धताभन्दा रू. २ अर्बले मात्रै बढी हो । लगानी प्रतिबद्धता केही बढेको देखिए पनि अर्ब रुपैयाँमाथिका ठूला लगानीकर्ता भने न्यून छन् ।

विभागको तथ्यांकअनुसार मात्र ३ आयोजनामा अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता देखिएको छ । रू. १० करोडदेखि रू. २० करोड बराबरको लगानी गर्ने गरी ३७ कम्पनी दर्ता भएका छन् भने रू. २५ करोडदेखि रू. ५० करोड बराबरको लगानी गर्ने गरी ३४ कम्पनी दर्ता भएको देखिन्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

LIVE TV