१५ माघ २०७६, बुधबार

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ३५ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्षद्वयको तर्फबाट दाहालले पेश गरेको प्रतिवेदनमा महाधिवेशनको मिति, राष्ट्रब्यापी अभियान, पार्टीका समस्या र कमजोरीलगायत विषय समेटिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको चर्को आलोचना गरिएको प्रतिबेदन साना र क्षेत्रीय दलप्रति ‘उदार’ छ ।

तत्कालिन एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक एजेण्डामा छलफल गर्न बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको प्रतिवेदन सरकारप्रति नरम छ । पार्टीका कमिकमजोरी स्पष्ट स्वीकारिएको प्रतिवेदनमा महाधिवेशनको प्रस्तावदेखि दलहरुको चरित्र चित्रण गरिएको छ ।

महाधिवेशन २०७७ को चैतमा

अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा २०७७ को चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन र त्यसअघि २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन गर्ने प्रस्ताव छ । मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

देश्वायापी अभियान

राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि पार्टी र सरकारको पक्षमा जनमत बनाउन आउँदो फागुन १ देखि असार मसान्तसम्म देशव्यापी अभियान सञ्चालन गर्ने प्रस्ताव छ । फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय कमिटीले अभियानको कार्ययोजना बनाउने छन् । अध्यक्षद्वयले अभियानको नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार : सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ तय गरेका छन् ।

भावनात्मक एकता भएन

दुई पार्टी एक भएर बनेको नेकपामा भावनात्मक एकता अझै हुन नसकेको प्रतिवेदनमा स्वीकारिएको छ । भावनात्मक एकता कायम गर्न अझै धेरै गर्न बाँकी नै रहेको भनेको प्रतिवेदनले आधारभूत तहसम्म एकीकरणको काम समयमै गर्न नसक्दा सिंगो पार्टी परिचालन गर्न नसकिएको तथा कार्यविभाजन र जिम्मेवारी पनि तोक्न नसक्दा पार्टी प्रभावकारी बन्न नसकेको औंल्याइएको छ ।

गुट सक्रिय, अराजकता कायम

नेकपामा विभिन्न गुट सक्रिय रहेको र पार्टीभित्र अन्तर्घात तथा अराजक प्रवृत्ति कायम रहेको तथ्यलाई नेतृत्वले औपचारिक रुपमा स्वीकार गरेको छ । राजनीतिक प्रतिवेदनमा ‘पार्टीभित्र घात–अन्तर्घात र अराजकताका प्रवृत्ति कायम छ,’ प्रतिवेदनमा भनिएको छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरासमेत दिन प्रतिदिन बढ्दै गइरहेको जिकिर प्रतिवेदनमा गरिएको छ ।

कार्यकर्तालाई लगाम

राजनीतिक प्रतिवेदनमा पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने तथा त्यसविपरित भेला बैठक गर्ने काम बन्द गर्ने प्रस्ताव छ । ‘पार्टीलाई विधि, अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न र अनुशासनहिन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्नेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

राम्रा कामको प्रचार भएन

सरकारले गरेका राम्रा कामको व्यवस्थित प्रचार गर्न नसक्नुलाई कमजोरी भनेको प्रतिवेदनले सरकारलाई कमिकमजोरीबाट बचाउन पनि पार्टीले नेतृत्वदायी भूमिका खेल्न नसकेको स्वीकारिएको छ । संघीय प्रणाली कार्यान्वयनमा आवश्यक नीति र कानून बनाउनुलाई भने नेकपाले सकारात्मक ठानेको छ ।

एमसीसीबारे नरम

राजनीतिक प्रतिवेदन अमेरिकी वैदेशिक सहायता नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रति नरम छ । प्रतिवेदनले एमसीसी सैन्य रणनीतिअन्तर्गत नभएको र पास गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषा बोलेको छ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल सधैं तत्पर छ’ प्रतिवेदनमा भनिएको छ ।

कांग्रेस : सम्झौता परस्त दल

प्रतिवेदनमा कांग्रेसलाई सम्झौतापरस्त भन्दै दलालको संज्ञा दिइएको छ । नेपाली कांग्रेस मूलतः पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन । तथापि, संविधान कार्यान्वयन र लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन कांग्रेससँग आवश्यकताअनुसार सहकार्य गर्नुपर्छ’ प्रतिवेदनमा भनिएको छ ।

साना दलसँग सहकार्य

कांग्रेससँग हकार्य गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्नुपर्नेमा जोड दिएको प्रतिवेदनमा साना दल, क्षेत्रीय पार्टी र साना वाम शक्तिसँग आलोचना, सहकार्य र एकताको नीति लिने उल्लेख छ । ‘उनीहरूलाई आर्थिक–सामाजिक रूपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनुपर्छ’ प्रतिवेदनमा उल्लेख छ ।

LIVE TV