१५ माघ २०७६, बुधबार

काठमाडौं, १५ माघ । वि.सं.२०७७ चैतको अन्तिममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता महाधिवेशन हुने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’को संयुक्त प्रतिवेदनमा एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबारदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा २०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख गरिएको छ ।

केन्द्रीय कमिटीको पहिलो दिन बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राख्नुभयो । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

त्यस्तै महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्य सहभागी छन् । सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन् । त्यस्तै एउटा समूहमा २९ नेता रहनेछन् । अब यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडामा छलफल गर्नेछन् ।

ती समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ गर्नेछन् ।

LIVE TV