१५ माघ २०७६, बुधबार

पोखरा, १५ माघ । एकपछि अर्को गर्दै कास्की प्रहरीको बदनामीहरु सार्वजनिक हुन थालेपछि न्यूज २४ का पोखरा ब्यूरो टिमलाई नै जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवेश रोक लगाइएको छ ।

कार्यालय प्रमुख एसपी दानबहादुर कार्कीको आदेशमा रोक लगाइएको डिएसपी राजकुमार केसीले बताउनुभयो ।

मंगलबार दिउँसो नक्कली सुनको घटना र मदिरा खाएर ड्यूटीमा खटिएका प्रहरीको विषयमा थप जानकारी लिन एसपी दानबहादुर कार्कीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।

त्यसै घटनाको विषयमा बुझ्न जाँदा बुधबार अपरान्ह ३ः०० बजे न्यूज २४ का गण्डकी ब्यूरोका उत्तम पौडेल र राजेन्द्र अधिकारीलाई भित्र छिर्न मूल गेटबाटै रोक लगाइएको हो ।

न्यूज २४ को अनलाइन संस्करण न्यूज २४ नेपाल डट टिभीमा ‘त्यो समातिएको नक्कली सुन ! र, कास्की प्रहरीको मौनता रहस्यमय बन्दै”भन्ने समाचार प्रकाशन भएसँगैं न्यूज २४ कर्मीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवेश निषेध गरिएको हो ।

साथै न्यूज २४ कर्मीलाई कुनै पनि सूचनामा समन्वय नगर्नु भन्ने आदेश पनि एसपी कार्कीले दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बताउँछन् ।

माथिको आदेश छ, सोधेर मात्र पठाउनु भने लगत्तै न्यूज २४ कर्मीले डिएसपी राजकुमार केसीलाई सम्पर्क गरेको थियो ।

डिएसपी राजुकमार केसीले केही मिनेटमा आफ्नो क्वाटरबाट फर्किएर गेट बाहिर भेट्दै भन्नुभयो–“एसपीको आदेश नै भित्र प्रवेश गर्न नदिनु भन्ने छ ।”

आफूले एसपीको आदेश मान्नु पर्ने र एसपी साहेबको आदेश नै त्यहीं भएको डिएसपी केसीको भनाइ थियो ।

LIVE TV