१५ माघ २०७६, बुधबार
  • राजन परियार,

सिन्धुली, १५ माघ । सिन्धुलीको फिक्कल गाउँपालिकाले पर्यटन प्रवद्र्धनको लागि ‘फिक्कल महोत्सव’ सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचार-प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘फिक्कल महोत्सव’ सञ्चालन गर्न लागेको हो ।

‘सडक, शिक्षा र विजुली फिक्कलको पुर्वधार, कृषि, वन र पर्यटन समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ फिक्कल गाउँपालिकाको आयोजनामा आगामी फागुन ९ गतेदेखि १८ गतेसम्म उक्त महोत्सव सञ्चालन हुन लागेको हो ।

‘भिजिट नेपाल–२०२०’लाई सघाउ पु-याउने उदेश्यले सञ्चालन गर्न लागिएको फिक्कल महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउँपालिकाभित्र पर्ने अग्लो डाँडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थाम, किवी तथा आलु पकेट क्षेत्रलगाएतको अवलोकन गर्न पाउनेछन् ।

त्यस्तै, सुनकोशी नदीमा -याफ्टिङ, प्याराग्लाइडिङ्ग, हेलिकप्टरमार्फत जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटक क्षेत्रको अवलेकन, गाउँपालिका केन्द्रदेखि फिक्कलसम्म पदैल यात्रालगाएत पनि मुख्य आकर्षण रहेको फिक्कल गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिए ।

उक्त महोत्सवमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस र काठका बस्तुहरु, अल्लोको कपडा, किवी र आलुको प्रर्दशनी पनि गरिनेछ ।

७८१४ फिट उचाईमा रहेको फिक्कल, दृश्य अवलोकनका लागि जिल्लाकै सबै भन्दा अग्लो उचाईको पर्यटकीय स्थलको रुपमा चिनिन्छ । यहाँबाट मनोरम सूर्याेदय र सूर्यस्तको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यस्तै उत्तरतिर विश्वकै अग्लो चुचुरो सगरमाथा लगाएतका १४ वटा हिमश्रृङ्खलाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

LIVE TV