१४ माघ २०७६, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट, १४ माघ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को सेमिफाइनलमा रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका सेमिफाइनमा प्रवेश गरेका छन् ।

चन्द्रपुर तीन जितसहित ९ अंकका साथ ग्रुप ‘क’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने चौदण्डीगढी र सिन्धुपाल्चोकको बाह्रवीसे नगरपालिकाको समान चार अंक भएपनि गोल अन्तरमा बाह्रवीसेलाई पछि पार्दै चौदण्डीगढी सेमिफाइनलमा पुगेको हो ।

चन्द्रपुर नगरपालिका ६ स्थित शेर व. दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएकोे पहिलो खेलमा उदयपुरको चौदण्डीगढीले नुवाकोटको विदुर नगरपालिकालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

चौदण्डीगढीका लागि पहिलो हाफको २४ औं मिनेटमा अनुष्का शेर्पाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको २ मिनेटपछि मनिता तामाङ्गले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

त्यस्तै पहिलो हाफको ३९ औँ मिनेटमा अनुष्का शेर्पाले फेरि गोल गर्दै ३–० ले अग्रता दिलाएकी थिइन् । साथै खेलको पहिलो हाफको ४२ औँ मिनेटमा चौदण्डीगढीकी छुमुलुङ्गमा राई गोल गर्दै ४–० को अग्रता बनाउन सफल भइन् ।

कमजोर रक्षापंक्ति र गोल किपिङ्गको फाइदा उठाउँदै चौदण्डीगढीका खेलाडीहरुले एकपछि अर्को गोल गरेका थिए ।

दोस्रो हाफमा विदुर नगरपालिकाले केही सुधारिएको प्रदर्शन गरेपनि खेलको ७६ औँ मिनेटमा मनिता तामाङ्गले व्यक्तिगत दोस्रो र टिमको लागि पाँचौ गोल गर्दै आफ्नो टिमलाई ५–० गोलको अन्तरले जित दिलाउन सफल भइन् । खेलको ‘वुमन अफ द म्याच’ चौदण्डीगढीकी अनुष्का शेर्पा घोषित भइन् ।

मंगलबारनै भएको दोस्रो खेलमा आयोजक चन्द्रपुर नगरपालिकाले बाह्रवीसे नगरपालिकालाई ५–२ गोल अन्तरले पराजित ग¥यो ।

खेल सुरुभएको पहिलो मिनेटमै रोजनी थोकरको पहिलो गोलले अग्रता लिएको चन्द्रपुरका लागि खेलको १५ औँ मिनेटमा मनिषा राउतको गोल मार्फत अग्रता दोब्बर गरेको थियो ।

पहिलो हाफको ३४ औँ मिनेटमा सविता राना मगरले हेड मार्फत गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाइन् । त्यसको ४ मिनेट पछिनै चन्द्रपुरकी रोजनी थोकरले हेडिङ मार्फतनै थप एक गोल गर्दै पहिलो हाफमा आफ्नो टिमलाई ४–० को स्थितिमा पु¥याइन् ।

दोस्रो हाफमा भने बाह्रवीसेले निकै आक्रमक खेल प्रस्तुत गरेको थियो । उनीहरुको आक्रमक खेलले चन्द्रपुरका रक्षापंक्तीलाई आँच्छुआँच्छु परेको थियो । दोस्रो हाफको पहिलो मिनेटमै पार्वती घलेको गोल गरेपछि हौसिएको बाह्रवीसेले चन्द्रपुरलाई निरन्तर दवाव दिएको थियो ।

खेलको ६० औँ मिनेटमा बाह्रवीसेकी सुष्मा तामाङ्गले थप एक गोल गर्दै आफ्नो टिमको गोल अन्तरलाई घटाएकी थिइन् । तर खेल सकिन २० सेकेण्ड बाँकी रहँदा चन्द्रपुरकी सविता राना मगरले गोलकिपर अगाडि बढेको मौकामा हेड मार्फत गोल गर्दै आफ्नो टिमलाई ५–२ गोलको जित दिलाउन सफल भइन् ।

खेलको ‘वुमन अफ द म्याच’ चन्द्रपुरकी सविता राना मगर घोषित भइन् । अब चन्द्रपुरले ग्रुप ‘ख’ को उपविजेता तथा चौदण्ढीगढीले ग्रुप ‘ख’ को विजेतासँग माघ १६ गते सेमिफाइनल खेल्नेछ ।

बुधबारको पहिलो खेल वालिङ्ग नगरपालिका स्याङ्जा र वीरेन्द्रनगर नगरपालिका सुर्खेत तथा दोस्रो खेल बाँसगढी नगरपालिका बर्दिया र विराटनगर महानगरपालिका मोरङ बीचमा हुने आयोजकले जनाएको छ ।

LIVE TV