१४ माघ २०७६, मंगलवार
  • जनकबहादुर शाही,

हुम्ला, १४ माघ । हुम्लामा फेरि हिमपात भएको छ । हिमपातका कारण मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा औषधिसहित हिडेको स्वास्थ्यकर्मीको टोली अलपत्र बनेको छ ।

चिसोले फैलिएको मौसमी रुघाखोकीका बिरामी गाउँगाउँमा बढ्दै गएका छन अहिले मौसमी रुघाखोकीका बिरामी नभएको प्राय कुनै गाउँ छैन । हिमपातका कारण चिसो बढ्दा जिल्लाका ग्रामीण क्षेत्रमा फैलिएको मौसमी फ्लुले बिरामीहरु थला परेका छन् ।

मौसमी रुघाखोकीले गत पुषदेखि माघ १३ गतेसम्म चंखेली, सर्केगाड र खार्पूनाथ गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की, ७० वर्षीय जसुराम सार्की, सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा, खार्पुनाथ गाउँपालिका वडा न लालीका ७० बर्षीया देउधन सार्की, ७९ बर्षीय बृर्षे शाही, ५५ बर्षकी बेलसरा शाही,७२ बर्षका पाथे ऐडी, ७० बर्षका गोपीसिंह बुढा, ६५ बर्षकी सजकला बुढा,६० बर्षका रणबीर बिष्ट, ६ बर्षका बालक युबराज शाही र बडा नं ३ की ३५ बर्षकी चन्दा बुढा रहेका छन् ।

सर्केगाडको उनापानीमा पुग्यो औषधि र डाक्टरको टोली तर मैल्छाममा रुवावासी जारी

बिभिन्न ठाउँमा फैलिएको मौसमी रुघाखोकीको नियन्त्रणका लागि जिल्ला अस्पतालका डाक्टर नबिन रोकाया नेतृत्वमा गएको टोली र सर्केगाड गाउपालिकाको स्वास्थ्यकर्मीको टाली सर्केगाड ३ उनापानीमा पुगेको छ ।

गाउँमा चेकजाँच गरेका ५ सय जनामा ४ सय ७० जनालाई मौसमी रुघाखोकीको लक्षण भएको र गाउँमा फैलिएको रुघाखोकी सामान्य भएको भन्दै डराउनु पर्ने अबस्था नरहेको डाक्टर रोकायाको भनाइ छ । तर चंखेली ६ मैल्छामको मासिधारामा भने अहिलेसम्म न औषधि पुगेको छ न त स्वास्थ्यकर्मीको टोली नै ।

भारी हिमपातले प्रदेश सरकारबाट खटिएको चिकित्सकको टोलीसंग सम्पर्क कठिन
कर्णाली प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले माघ १२ गते बिहान स्थलमार्गबाट चंखेलीको मासिधारामा औषधि, ल्याबका उपकरणसहित प्राविधिक टोली पठाइसकेको भए पनि भारी हिमपाले गर्दा सम्बन्धित ठाउमा पुग्न सकेको छैन भने उक्त टोलीसंग सम्पर्क पनि हुन सकेको छैन ।

हवाईमार्ग हुदै सिमकोट पुगेको डाक्टर सहितको टोली सिमकोटमा रोकिएकाले मंगलबार रातिसम्म हिमपात रोकिएन भने प्रदेश सरकारले हेलिकप्टरको ब्यबस्था गरेर पनि प्रभाबित क्षेत्रमा औषधिसहित चिकित्सकहरु प-याउने कर्णाली प्रदेशका सामाजीक बिकास मन्त्री दल रावलले बताउनुभयो ।

विरामी नभएको घर नै भेट्न मुश्किल

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । खार्पुनाथमा मात्रै पुषपछि ६ बर्षको बच्चासहित मौसमी रुघखोकीका कारण ८ जनाको मृत्यु भएको छ  ।

ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्ने गरेको र शरीरका हड्डी पनि दुख्ने गरेको बताउँदै खार्पुनाथ–१ लालीका स्थानीय बीरजन शाहीले भने ‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै, पालिकाबाट ल्याएको औषधि एक हप्ता नपुग्दै सकियो अहिले गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ । उनका अनुसार वृद्धवृद्धा र बालबालिका गरी १ नम्बर वडामा कम्तीमा ३/४ सय जना बिरामी भएको शाहीले बताए ।

सिटामोल छैन तर सबै औषधि भएको स्वास्थ्य शाखाको झुठो दावी

गाउँमा प्रकोप फैलिएर बिरामीको भकाभक ज्यान जाँदा पनि स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव नभएको दावी गर्छन खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाह ।

सबै ठाउँमा औषधि सहित स्वास्थ्यकर्मी स्टेनबाई भएको पनि उनको दावी छ । खार्पुनाथमा मृत्यु भएका ८ जना मध्ये एक बच्चा सहित ३ जना बाहेकलाई दम र दीर्घ रोग रहेको संयोजक शाहीको जिकिर छ ।

हुम्लाका स्थानीयबासी भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरूमा सिटामोल समेत नपाएर ज्यान गुमाउनु परेकोमा दुखेसो पोख्छन ।

जिल्लामा मौसमी रुघाखोकी फैलिएको खबर आउने बित्तिकै हुम्लाका सबै गाउँपालिकाले पालिकामा उपलब्ध औषधि सबै स्वास्थ्य संस्थामा पठाई आफ्नो मताहतका स्वास्थ्यकर्मीलाई स्टेनबाई रहन निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो ।

LIVE TV