१४ माघ २०७६, मंगलवार
  • यामराज कटुवाल

दैलेख, १३ माघ । नारायण नगरपालिका ५ दैलेखमा रहेको महेन्द्र माध्यामिक विद्यालयमा शिक्षकका लागि लिइएको परीक्षामा अनियमितता भएको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सरोकारवालाहरुले अध्यक्ष पार्बती खड्का र प्र.अ. धन बहादुर रोकायको कार्यकक्षमा ताला लगाएका हुन् ।

नि.मा.बी. तह अंग्रजी बिषयको राहत कोटाका लागि कार्तिक २५ गते विज्ञापन गरिएको र नयाँ ब्यवस्थापन समिति गठन भैसकेपछि गत मंसिर १० गते वि.ब्य.स.को बैठकबाट उक्त विज्ञापनलाई अनुमोदन मात्र गरिएको बाहेक विद्यालय व्यवस्थापन समितिबाट कुनै पनि निर्णय नगराई एकलौटि अध्यक्ष र प्र.अ.ले आफ्नो मनोमानी तरिकाले परीक्षा लिई शिक्षक नियुक्ति गरेको आरोप लगाइएको छ ।

यस विषयमा कुरा गर्दा आफु बैठकमा आएको तर कुनै पनि बैठकमा शिक्षक पदपुर्तिको सम्बन्धमा छलफल नभएको र अध्यक्ष र प्र. अ.ले गोप्य रुपमा पदपूर्ति गरेकाे बताउँछिन् विद्यालय व्यवस्थापन सदस्य मनिसा शाही ।

पटक पटक पद पूर्तिका लागि परिक्षा तोक्ने र स्थगित गर्ने गरिएको र यस अघि माघ ८ गते लिन लागिएको परिक्षामा प्रश्न पत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको र पुनः १३ गते मिलेमतोमा शिक्षक नियुक्ति गर्न लागेकाले ताला लगाउनु परेको पुर्ब विद्यालय व्यवस्थापन अध्यक्ष बखत बहादुर कटुवालले बताए ।

उता प्र. अ. धन बहादुर रोकायले भने सबै आरोपहरु गलत भएको र सबै प्रक्रिया पुर्याएर नै परीक्षा लिइएको प्रतिक्रिया दिएका छन् । विद्यालय समयमा लगाइएकाे ताला जिल्ला प्रहरी कार्यालय दैलेखबाट आएको टोलिले खाेलेको थियो ।

LIVE TV