१४ माघ २०७६, मंगलवार

काठमाडौं , १४ माघ । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको छ।

भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानमा यतीको मस्कट राखिएको थियो। संस्कृतिप्रेमी र स्थानीयले यतीको मस्कटमा कुँदिएका चित्रप्रति आपत्ति जनाएपछि सचिवालयले त्यसलाई हटाएको हो। सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद आयो। यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएका थिए। चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटायो। लगत्तै भ्रमण वर्ष २०२० को सचिवालयले यतीको मस्कट उक्त स्थानबाट हटाएको छ।

इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको छ। नेपाल चिनाउन चित्रकारले अपनाएको शैलीप्रति समितिले विरोध गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

LIVE TV