पोखरा भारतीय माग्नेहरुको अखडा बन्दै, पर्यटक आजित



प्रकाशित मिति : Jan 27, 2020
  • उत्तम पौडेल

कास्की, १३ माघ । पोखराको ‘लेकसाइड’ क्षेत्र माग्नेको अखडा बन्दै गएको छ । बाटो छेकेर, लगातार पछ्याएर, अस्तै परे कपडामै झुण्डिएर माग्ने प्रबृत्तिका कारण पर्यटक पनि आजित हुन थालेका छन् । माग्नेमा भारतीय नागरिकको संख्या धेरै छ ।

नेपालमा आउने कुल पर्यटक मध्ये ४० प्रतिशत हिस्सा ओगटेको भारतीय पर्यटनको भूमिका आफ्नै ठाउँमा उत्साह जनक छ । तर, भारतबाटै आउने अर्को एक झुण्ड माग्नेको लर्कोले भने नेपाली पर्यटन व्यवसायलाई चूनौंती पनि थपिई रहेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा मगन्तेको समस्या विकराल बन्दै गईरहेको छ । लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महिनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने पर्यटन व्यवसायी बताउँछन् ।

तेस्रो मुलुकका पर्यटकले यस्ता सास्ती दिनहुँ खेपी रहनु परेको छ । भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शनप्रति सरोकारवाला निकायको ध्यान गएको देखिदैन । तर, गण्डकी प्रदेश सरकार भने माग्नेहरुको विषयमा आफू जानकार रहेको र त्यसको व्यवस्थापनमा चासो रहेको बताउँछ ।

पर्यटनको हव मानिएको पोखरा मगन्तेका कारण असुरक्षित बन्दै गएको छ । दिउँसो आएर पसलको रेकी गर्ने र रातमा चोरीका घटना हुने भएपनि सम्बन्धित निकायको कानसम्म पुग्न सकेको छैन । चोरीका घटना पर्यटकसँग घटे पनि त्यसलाई उजुरी गर्ने यथेष्ट ठाउँहरु छैनन् ।

त्यसैले भ्रमण वर्ष मनाउँदै गर्दा चोरी, लुटपाटका घटनालाई न्यूनिकरण गर्न सुरक्षाको हिसाबले बलियो संयन्त्र बनाउन सकेको भए र मगन्ते व्यवस्थापन तथा न्यूनिकरण गर्न सकेको भए सफल भ्रमण वर्षको कल्पना गर्न प्रदेश सरकार सफल हुन्थ्यो की ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com