१३ माघ २०७६, सोमबार
  • राजेन्द्र अधिकारी/उत्तम पौडेल

पोखरा, १३ माघ । पटक पटक विवादित बन्दै आईरहेको जिल्ला प्रहरी कार्यालय कास्की फेरि विवादमा मुछिएको छ । जुवा अपरेशनका नाममा यूरो काण्डमा विवादित बनेको कास्की प्रहरी फेरि नक्कली सुन काण्डमा पनि त्यसैगरी तानिएको छ ।

गत असोज १ गते राति काँकडभिट्टाबाट छुटेको बसमा १० किलो सुन छ भन्ने गोप्य सूचना कास्की प्रहरीलाई प्राप्त भयो । सोही सूचनाको आधारमा कास्की प्रहरीले असोज १ गते राति नै आफ्नो अप्रेशन शुरु गर्यो ।

काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ना ४ ख ४३५१ नम्बरको बस कास्की प्रहरीले लेखनाथबाट सम्पूर्ण यात्रुसहित नियन्त्रणमा लिएर सीधैं जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा पु्यायो । यात्रुहरु सबैलाई झारेर चेक जाँच गर्दा भारतीय सेनामा कार्यरत एक नेपालीको झोलाबाट दुईवटा सुनका आधा किलो भन्दा बढी तौलका विस्कुट प्रहरीले बरामद गर्याे ।

भारतबाट सस्तोमा खरिद गरेको सुनको अनुसन्धान एक दिनमै

सुनका बिस्कुटसहित उक्त व्यक्तिलाई पक्राउ गरी केरकार गर्दा आफूले त्यो सुन भारतबाट सस्तोमा खरिद गरेर पोखरामा बेच्नका लागि ल्याएको स्वीकारेको स्रोतको भनाई छ । भारतबाट पोखरा आउँदै गर्दा ती व्यक्तिले सुन व्यापारीहरुसँग सरसल्लाह गरेको सूचना आएको आधारमा कास्की प्रहरीले सक्रियता बढाएको थियो ।

अनुसन्धान नगरी सुनवाहकलाई एक दिनमै छोडियो

उक्त सुन जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा लिएर सुन चाँदी व्यवसायी संघ पोखरामा सुन हो कि होइन भनेर सोही दिन यकिन गर्नका लागि चेकजाँच गरायो । सुन चाँदी व्यवसायी संघले उक्तधातु सुन नभएको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गरायो । उक्त धातु नक्कली रहेको र व्यक्तिगत हिसाबले ल्याउने मान्छे ठगिएको भन्दै कास्की प्रहरीले असोज ३ गते नै ती व्यक्तिलाई कुनै पनि अनुसन्धान नगरी थुना मुक्त गरिदियो ।

दुई हजारको सामान बरामद गर्दा होस् या ५ हजारको जुवाको खालमा छापा मार्दा होस् पत्रकार सम्मेलन गरेर ढोल पिट्ने कास्की प्रहरी आधा किलो भन्दा बढी नक्कली सुनको विषयमा महिनौंसम्म मौंन बस्यो । उक्तधातु सक्कली सुन भएको भए अनुसन्धान गरेर नियन्त्रणमा लिईएको व्यक्तिको विरुद्धमा मुद्दा दायर गर्नुपर्ने र नक्कली भएको भए नक्कली सामान ओसार पसारको विरुद्धमा सामान बोक्ने उपर अनुसन्धान हुनुपर्ने प्रहरी अधिकारीहरु नै बताउँछन् । यो विषयमा कास्की प्रहरी धेरै ठाउँमा चुकेको स्पष्ट देखिन्छ ।

सुनबारे गरिएको छानविन र अनुसन्धानमाथि प्रहरीकै उच्च अधिकृतको आशंका

घटनामा सुक्ष्म तरिकाले अनुसन्धान नगर्नु, सुन हो कि होइन भन्ने विषयमा कानूनी प्रक्रिया अनुसार परीक्षण नगरिनु, घटनालाई लुकाईनु र संलग्न व्यक्तिलाई भोलिपल्ट नै छोडिनु लगायतका विषयले प्रहरीको नियतमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

यस विषयमा गण्डकी प्रदेशका प्रहरी प्रमुख (डिआईजी) विनोद घिमिरेले अनुसन्धानको प्रक्रिया गलत रहेको र नक्कली सक्कली जे सुकै भएपनि सम्बन्धित मानिसलाई नियन्त्रणमा राखेर अनुसन्धान अगाडि बढाउनु पर्नेमा कास्की प्रहरीले गम्भीर त्रुटि गरेको बताउनु भएको छ ।

प्रहरीले मुद्दा दायर नगर्नु, अनुसन्धानमा २४ घण्टा पनि नलगाउनु, घटनालाई उजागर नगरी जिल्ला प्रहरी कार्यालय कास्कीमा मात्र सीमित राख्नुले कास्की प्रहरी नक्कली सुन काण्डमा पनि चुकेको स्पष्ट देखिन्छ ।

LIVE TV