१३ माघ २०७६, सोमबार

काठमाडौं, १३ माघ । चर्चित गायिका आस्था राउतले आफूबाट गल्ती भएको स्वीकार गरेकी छिन् ।

भारतको सिक्किममा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन भद्रपुर हुँदै त्यसतर्फ जाने क्रममा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा ड्युटीमा रहेकी प्रहरीसँग भएको भनाभनपछि विवादमा तानिएकी राउतले सोमबार आफूबाट गल्ती भएको बताएकी हुन् ।

सोमबार बिहान काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण गर्न पुगेकी गायिका राउतले प्रहरी समक्ष कानूनभन्दा माथि कोही हुने रहेनछ भन्दै प्रहरीलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

‘सानो गल्तीबाट मैले ठूलो पाठ सिकेकी छु , मानिसबाट गल्ती हुन्छ तर त्यो गल्तीबाट पाठ सिक्न सक्नुपर्छ । अहिले मैले पनि यस्तै महसुस गरिरहेकी छु,’ गायिका राउतले न्यूज २४ नेपाल डट टिभीसँग कुरा गर्दै भनिन्, ‘हरेक नागरिकलाई पनि म यस्को विषयमा सचेत बन्न आग्रह गर्दछु ।’

प्रहरीसमक्ष आत्मसमर्पण गरेर आफ्नो भनाइ राखेपछि गायिका राउतलाई सरकारी वकिलको कार्यालय लगिएको छ । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लगिनेछ । प्रहरीसमक्ष गल्ती स्वीकार गरेकोले गायिका राउत आजै धरौटीमा छुट्ने सम्भावना बढेको एक प्रहरी अधिकारीले न्यूज २४ लाई बताएका छन् ।

गत माघ १ गते भद्रपुर जाने क्रममा गायिका राउत र त्रिभूवन विमानस्थलको आन्तरिक कक्षमा चेकजाँचको क्रममा ड्युटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीच विवाद भएको थियो ।

विवादपछि गायिका राउतले प्रहरीलाई गालीगलौज गर्दै फेसबुक लाइभमार्फत समग्र प्रहरी संगठनमाथि खनिएकी थिइन् । यसपछि विवादमा तानिएकी उनीमाथि प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेको थियो । अभद्र व्यवहार ठहरिए उनलाई १ वर्ष कैद सजाय हुन सक्छ ।

LIVE TV