१३ माघ २०७६, सोमबार

काठमाडाैँ, १३ माघ । लाइफ इन्स्युरेन्स कर्पाेरेशन (एलआइसी) नेपालमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको भारतीय बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी)’ संकटमा परेकाे छ ।

भारत सरकारको स्वामित्व रहेको एलआइसीले लगानी गरेका कम्पनीहरू डुब्ने अवस्थामा पुगेपछि एलआइसी स्वयंमाथि संकट आइपरेको हो । एलआईसीकाे मुख्य लगानी रहेका दिवान हाउजिङ, रिलायन्स क्यापिटल, इण्डिया बुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंकलगायत कम्पनीहरू डुब्ने अवस्थामा पुगेकाे बताइएकाे छ ।

बीबीसी हिन्दीका अनुसार एलआइसीकाे पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स– एनपीए) शत प्रतिशत वृद्धि भएको छ । एलआइसीले सन २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ दशमलव १५ प्रतिशत पुगेकाे देखिन्छ । जबकि साे दर सन् २०१४/१५ मा जम्मा ३.३० प्रतिशत मात्रै थियो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएकाे नीतिका कारण एलआइसीले थप नोक्सानी बेहाेर्नुपरेकाे भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताएका छन् । उनका अनुसार एलआइसीमाथि संकट बढ्दै गएपछि कम्पनीप्रति नागरिकको विश्वास समेत गुम्दै गएको छ ।

सन् २०१८-१९ को वित्तीय विवरणअनुसार २०१९ मार्च ३१ सम्म एलआइसीको खराब सम्पत्ति २४ खर्ब भारतीय रुपियाँ बराबर छ । कम्पनीको कुल कर्जा भने ४० खर्बभन्दा बढी र कुल सम्पत्ति ३६ खर्ब भारु बराबर रहेकाे बताइएकाे छ ।

नेपालमा असर

भारतीय कम्पनी एलआइसीको नेपालमा पनि लगानी छ । ५५ प्रतिशत शेयर स्वामित्व रहेकाे कम्पनी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) काे बिजनेसमा यसले असर पर्न सक्छ । माउ कम्पनीमा समस्या देखिएपछि एलआइसी-नेपालमा पनि समस्या देखिन सक्ने एकथरी विज्ञ बताउँछन् ।

तर एलआइसी-नेपाल स्वयंले भने यसलाई केबल ‘हल्ला’ भन्दै कुनै असर नपर्ने जनाएको छ । ग्राहककाे मन राख्न मात्र उसले यसाे भनेकाे हुन सक्ने जानकारहरू बताउँछन् ।

एलआइसी- नेपालका कम्पनी सचिव विनोदकुमार भुजेलले भारतका केही व्यक्तिहरूले सरकारविरुद्ध प्रचारबाजी रचेको दाबी गर्दै नेपालमा यसकाे कुनै असर नपर्ने बताएका छन् । उनले हल्लाकाे भर नपर्न समेत आफ्ना ग्राहकलाइ आग्रह गरेका छन् ।

LIVE TV