१३ माघ २०७६, सोमबार

काठमाडौँ, १३ माघ । पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो ।

त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो । सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ । चक्रपथको कलङ्कीदेखि धोबीखोला (चावहिल) पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो ।

चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ ।
चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग) का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रका जग्गा अधिग्रहण गर्ने निर्णय गरे पनि अधिग्रहण प्रक्रिया सुरु हुनसकेको छैन । चक्रपथ विस्तार गर्न यो खण्डमा सडक सीमाको दायाँ बायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गरिनुपर्ने र सोको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सडक विभाग, विकास सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको बताउनुभयो । उहाँले सडक विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी दिनुभयो । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV