१२ माघ २०७६, आईतवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, १२ माघ । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नमूना खेल मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ । सुनकोशी गाउँपालिका–७ च्यानमस्थित प्रबुद्ध माविको खेल मैदानलाई नमूना खेल मैदानको रुपमा निर्माण गर्ने प्रक्रिया अघि सारिएको हो ।

गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारीका अनुसार खेल मैदान निर्माणका लागि जग्गाको लालपूर्जासहित डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) निमार्ण गरी युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ ।

आइतबार संसाद यज्ञराज सुनुवार, नेपाली काग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार तथा गाउँपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीलगाएतको टोलीले युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा समक्ष खेलकुद मैदान निर्माणका लागि आवश्यक बजेटको माग गर्दै डिपीआर बुझाएको छ ।

गत भदौ महिनामा मन्त्रालयले न्यूनतम मापदण्ड पूरा गरी नमून खेल मैदान निर्माणका लागि मागपत्र पेश गर्न प्रत्येक स्थानीय तहलाई पत्राचार गरेको थियो । सोही अनुसार गाउँपालिकास्थित प्रबुद्ध माविको खेल मैदन उपयुक्त भएको भन्दै गाउँपालिकाले डिपीआर तयार गरेर पेश गरेको अध्यक्ष अधिकारीको भनाइ छ ।

गाउँपालिकाको डिपीआर बुझ्दै खेलकुदमन्त्री विश्वकर्माले खेलकुद मैदान निर्माणका लागि चासो देखाएको भन्दै गाउँपालिकालाई धन्यवाद दिएका छन् । उनले मैदान निर्माणका लागि जग्गाको लालपूर्जासहितको प्रस्ताव आएकोले मैदान निर्माणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

च्यानममा खेलकुद मैदान निर्माण भएपछि राष्ट्रपति रनिङ शिल्ड तथा जिल्ला स्तरीय तथा अन्तर जिल्ला स्तरीय खेलकुद सञ्चालनका लागि सहज हुनेछ ।

LIVE TV